गभर्नरले राजनीतिक पक्षधरता देखाएको पूर्वमन्त्रीको आरोप

गभर्नरले राजनीतिक पक्षधरता देखाएको पूर्वमन्त्रीको आरोप

नेकमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वैचारिक निकटताका आधारमा काम गरेको बताएका छन् । मौद्रिक नीतिका सन्दर्भमा गभर्नरको वैचारिक तथा राजनीतिक पक्षधरता प्रकट भएको उनले दाबी गरे । 

अर्थ समितिको आजको बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले विगतमा शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई गभर्नर अधिकारीले साथ नदिएको उल्लेख गरे । अहिले आफूसँग वैचारिक निकटताको प्रधानमन्त्री र अर्थमन्त्री भएकाले गभर्नरले खुकुलो मौद्रिक नीति ल्याएको उनको आरोप छ । 

गभर्नरले समर्थन गरेकै कारण यसचोटी वित्त र मौद्रिक नीतिबीच तालमेल मिलेको पुनको भनाई छ । ‘विगतमा शेरबहादुर देउवाको नेतृत्वको सरकारलाई गभर्नरले सपोर्ट गर्नुभएन । प्रचण्डको नेतृत्वको सरकारलाई पनि सपोर्ट गर्नुभएन । अहिले आफूसँग वैचारिक निकटता भएको प्रधानमन्त्री र अर्थमन्त्री आएको हुनाले उहाँले खुकुलो गर्नुभएको आफ्नो ट्रेन्डभन्दा विपरित खुकुलो नीति लिनुभयो,’ उनले भने, ‘यसले राम्रो भएको भन्ने पनि आयो । मान्छेको मुख थुन्न सकिँदैन । तर, कहीं न कहीं त्यो पनि देखिन्छ । वित्त र मौद्रिक नीतिको तालमेल यसपटक मिलेको छ ।’ 

राष्ट्र बैंकले अहिलेको सरकारलाई समर्थन गरेकै कारण सेयर बजार बढेको उल्लेख गर्दै पूर्वअर्थमन्त्री पुनले पहिले नै सुधारका नीति लिनुपर्नेमा त्यसो हुन नसकेको गुनासो गरे । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा चलखेल भएको संकेत गर्दै उनले पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत र आफ्नो कार्यकालमा यो विषय जटिल बनेको बताए । 
‘धितोपत्र बोर्डको अध्यक्षमा व्यवसायिक मान्छे ल्याउनुपर्छ भनेर मैले पनि धेरै कोशिस गरेँ । यसमा धेरै कर्पोरेट हाउसको चासो रह्यो । तर बोर्ड अध्यक्षमा स्वच्छ र व्यावसायिक मान्छे ल्याउन आवश्यक छ’, पुनले भने ।

टिप्पणीहरू