समात्ने हामी, सराप्ने अरु

समात्ने हामी, सराप्ने अरु

जनआस्थाको गतांकमा विद्युतीय माध्यमबाट कुटाइ खाने जासुसहरूको काण्डै काण्ड शीर्षक राखेर म गोविन्दजंग शाहविरुद्ध प्रकाशित पत्रप्रति मेरो गम्भीर ध्यानाकर्षण भएकाले खण्डनको लागि यो निवेदन प्रेषित गर्दै छु । 

म कार्यरत कार्यालयका प्रमुख ओमबहादुर खड्का नेतृत्वको जासुसी टोलीको गतिविधिका कारण स्थानीयदेखि प्रहरीसम्म हैरान छन् भनिएको छ । गुप्तचर निकायले गर्ने काम प्रत्यक्ष जनसरोकारको विषय नहुने र कतिपय स्थानीयलाई हाम्रो कार्यालयबारे समेत जानकारी नरहने हुँदा स्थानीयहरू कसरी हैरान भए यो सोचनीय विषय हो । 

मलाई कार्यालयले लेखा र प्रशासन हेर्ने जिम्मेवारी दिएको हुँदा म बाहिर खटिने कुरै छैन । नियमपूर्वक दर्ता भई सञ्चालनमा रहेका इँटा भट्टाहरूले के को आधारमा रकम दिन्छन् होला ! केही समयअघि यसै कार्यालयको सूचना र समन्वयका आधारमा नेपालगञ्ज क्षेत्रबाट करिब १ करोड बराबरको अवैध हुण्डी रकम प्रहरीले बरामद गरेको थियो ।

यदि, ती कारोबारीबाट मैले वा अर्जुन खड्काले रकम असुलेको भए त्यत्रो ठूलो रकम कसरी राज्यकोषमा आउँथ्यो । गत वर्ष तिनै अर्जुन खड्काले करिब ५ किलो सुनसहित व्यक्ति नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । प्रकाशित पत्रमा यदि सानोभन्दा सानो सत्यता पाइएको अवस्थामा म जस्तोसुकै कानुनी कारबाही भोग्न तयार रहेको जानकारी गराउँछु ।

– गोविन्दजंग शाह राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँके, नेपालगञ्ज

 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू