रवि लामिछानेकै तीन पुस्ते प्रमाण हैन र यो ?

रवि लामिछानेकै तीन पुस्ते प्रमाण हैन र यो ?
सुन्नुहोस्

‘जिबी राईको सबै कारोबारमा म जिम्मेवार हुनुपर्ने ?’ सहकारी घोटालामा आफ्नो संलग्नता अस्वीकार गर्दै यसरी टक्टकिने रवि लामिछानेले उनै जिबी राईसँग संयुक्त खाता खोलेर बैंकिङ्ग कारोबार गरेको केवाइसी विवरण फेला परेको छ । आफू ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक रहँदा ऋण लिने कुनै पनि निर्णय नभएको र आर्थिक कारोबारमा समेत कुनै संलग्नता नरहेको उनको दावी रहँदै आएको छ । तर, ग्लोबल आइएमई बैंकमा जिबी राई, छविलाल जोशी र लामिछाने सञ्चालक रही ‘गोरखा मिडिया नेटवर्क प्रालि’ को नाममा संयुक्त खाता खोलेर कारोबार गरेको प्रमाण भेटिएको हो । 

गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी)ले देशका मुख्य शहरमा सहकारी खोलेर सर्वसाधारणको बचत रकम गैरकानुनीरूपमा उक्त कम्पनीमा ल्याएको तथ्य सार्वजनिक भैसकेको छ । त्यसबखत उक्त कम्पनीको लामिछाने प्रवन्ध निर्देशक थिए । तीन जनाले २२ अक्टोबर २०२० मा कम्पनीको नाममा संयुक्त खाता खोलेको र केवाइसी फारामसमेत भरेको पाइएको छ ।

०४०१०१००००५७७ नम्बरको खातामा संस्थाको प्रकार ‘कम्पनी’ उल्लेख छ भने वार्षिक अनुमानित कारोबार एक करोड ५० लाख राखिएको छ । ‘संस्थागत खाता खोल्ने फारम’मा उपाध्यक्ष छविलाल जोशीलाई डाइरेक्टर तोकी मुख्य सञ्चालक बनाइएको छ भने खाता सञ्चालन गर्दा तीनमध्ये कुनै एक जनाको हस्ताक्षर चल्ने उल्लेख गरिएको छ । 

सर्वसाधारण नागरिकले खाई–नखाई जम्मा गरेको सहकारीको रकम हिनामिना भएको यस प्रकरणमा आफूमाथि प्रश्न उठेपछि लामिछानेले पटक–पटक सोको खण्डन गर्दै आएका छन् । यसअघि ग्लोबल आइएमई बैंकमै रहेको उनको व्यक्तिगत खातामा एक करोड ८० लाख रूपैयाँ जम्मा भएको विषयमा उक्त रकम दाखिला नभएको दाबी गर्दै आफूलाई फसाउन कसैले किर्ते काम गरेको बताएका थिए । ग्राहक पहिचान फारम (केवाईसी)समेत नभरेको र आफ्नो खातामा कसरी पैसा आयो थाहा नभएको उनको प्रतिक्रिया थियो । पार्टी सम्बद्ध कानुनविद् र बैंकर अनिलकेशरी शाहलाई दायाँ–बायाँ राखेर त्यसबारे स्पष्टीकरण दिँदै लामिछानेले सहकारीको रकम दुरूपयोग नगरेको दाबी दोहो¥याएका थिए । तर, उनको त्यस्तो दाबी झुटो ठहर भएको छ । 

ग्लोल्बल बैंकमा खाता खोल्दा लामिछाने, जिबी र छविलालले संयुक्तरूपमा ‘मैले, हामीले यस खाता खोल्ने तथा सञ्चालन गर्नेसम्बन्धी शर्त तथा बन्देजहरू पढे, पढ्यौं र, बैंकका नियमहरू पालना गर्न मेरो, हाम्रो मञ्जुरी छ । खाता सञ्चालन सम्बन्धमा बैंकले प्रचलनमा ल्याउने नियम स्वीकार तथा पालना गर्न मेरो, हाम्रो मञ्जुरी छ । आ–आफ्नो सम्पूर्ण कागजात यसैसाथ संलग्न छन्’, भन्ने व्यहोरासहितको मञ्जुरीनामामा हस्ताक्षर गरेका छन् ।

तीन जनाले अलग–अलग भरेको केवाईसी फारममा फोटो टाँसेर व्यक्तिगत विवरण भरी औंठाछापसहित हस्ताक्षर गरिएको छ । रवि लामिछाने खातावाला रहेको केवाईसी विवरणमा हालको ठेगाना काठमाडौँ जिल्ला बूढानीलकण्ठ नगरपालिका वार्ड नम्बर ०६ हात्तीगौंडा उल्लेख छ । घर नम्बरसमेत उल्लेखित विवरणमा नागरिकता नम्बर र जन्ममिति खुलाइएको छ । २८ जेठ २०३२ जन्ममिति रहेको र जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १० फागुन २०५० मा जारी भएको नागरिकता नम्बर १८२२२ उल्लेख गरिएको छ । 

त्यस्तै, अध्यक्ष गितेन्द्रबाबु राईको व्यक्तिगत विवरणमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ स्थायी ठेगाना छ भने हाल ललितपुरको धापाखेल बस्ने जनाइएको छ । केवाइसीमा उनको नागरिकता नम्बर ४५६७१/५१ ०८ /०९ /२०६८ उल्लेख छ । केवाइसी फारममा छविलाल जोशीको ठेगाना काठमाडौँ महानगरपालिका वार्ड नम्बर ०१ भगवतीमार्ग, घर नम्बर १०४३ /४४ छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले २०४२ साल जेठ २ गते जारी गरेको २०५३ /०४१/४२/३०३/२१०० नागरिकता नम्बर विवरणमा उल्लेख गरिएको छ ।

विद्यमान ऐनविपरित सहकारीबाट रकम झिकेर गोर्खा मिडिया नेटवर्कमा गैरकानुनी तवरले रकम लैजाने प्रयोजनका लागि खाता खोलिएको उच्च प्रहरी स्रोतले बताएको छ । सहकारीका सदस्य बाहेकलाई ऋण प्रवाह गर्न नपाइने कानुनी व्यवस्था मिचेर करोडौँ रकम ग्यालेक्सी टेलिभिजनमा लगिएको सम्बन्धमा अनुसन्धान गरिरहेका एकजना प्रहरी अधिकारीले भने, ‘ग्लोबल बैंकमा रवि लामिछानेसमेतले संयुक्त खाता खोलेर कारोबार गरेको देखिन्छ । अहिले खातामा रकम छैन । यसबारे थप अनुसन्धान गर्दैछौँ ।’ 

हालसम्म खातामा कति रकम जम्मा भयो र कुन–कुन मितिमा कसले रकम निकालेर लग्यो भन्नेबारे थप अनुसन्धान हुने ती प्रहरी अधिकारीले बताए । ‘गोरखा मिडियाको नाममा खोलेको संयुक्त खातामा सहकारीको रकम आएको त निश्चित छ । तर, एकैचोटी ठूलो रकम देखिने भएकाले फरक–फरक खातामा पनि पैसा पठाएको हुनसक्छ’, सहकारी ठगीको अनुसन्धान गरिरहेका उनले भने, ‘थप अनुसन्धनपछि बाँकी धेरै कुरा खुल्छ !’

यसअघि पोखराको सूर्यदर्शन सहकारीबाट ‘रवि लामिछाने’ को नाममा प्रवाह भएको डेढ करोड ऋण पनि लामिछानेले अरु कसैले आफ्नो नाम र हस्ताक्षर दुरूपयोग गरेर भौचर बनाएको दाबी गरेका थिए । तर, पोखरा महानगरको अध्ययन प्रतिवेदन र सिआइबीको अनुसन्धानबाट उनले ऋण लिएको स्पष्ट भैसकेको छ । लामिछानेले उक्त रकम ग्यालेक्सीमै लगानी गरे वा अन्यत्र जम्मा गरिएको छ ? यसबारे थप अनुसन्धान हुनुपर्ने प्रहरी अधिकारी बताउँछन् । 

‘ऋण नमागीकन कुनै व्यक्तिको खातामा खुरूखुरु कसैले पैसा हाल्दिन्छ ? यो त झन् अर्को किर्ते कुरा भएन र ?’, प्रहरी अधिकारी भन्छन्, ‘यो पैसा कहाँ लगियो, कसले बुझेको रहेछ थप अनुसन्धान गर्नुपर्ने देखिन्छ । त्यो खाताबाट अर्को खातामा रकम सारियो या कुनै मान्छेले निकाल्यो त्यो हेर्नुपर्ने हुन्छ । हामी त्यसतर्फ अनुसन्धान गर्दैछौँ ।’

 

टिप्पणीहरू