कान्ता म्याडमको नाम राजदूतबाट काटियो

कान्ता म्याडमको नाम राजदूतबाट काटियो

आफूसँगै इजरायल गएका कर्मचारीलाई उतै छोडेर आएको आरोपमा प्रस्तावित राजदूत कान्ता रिजालको पद धरापमा परेको छ । अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस उनको प्रस्तावित पद करिव करिब खोसिइसकेको छ । परराष्ट्र मन्त्रालयले संसदीय सुनुवाईका निम्ति पठाएको सूचिमा उनको नाम छैन । इजरायल सरकारले आपत्ति जनाउँदै पत्र पठाएपछि नाम काटिएको स्रोतले बतायो । 

‘यताबाट लगेका अर्दलीहरुलाई उतै छोडेको भनी इजरायल सरकारले कम्प्लेन गरेको छ । त्यसैले उहाँको नाम संसदीय सुनुवाइका लागि नपठाएको हो’, स्रोतले भन्यो । २०७९ असार १२ गते देउवा सरकारले बिराटनगरकी रिजाललाई कांग्रेस कोटाबाट इजरायलका निम्ति राजदूत नियुक्त गरेको थियो । 

इजरायल र प्यालेष्टाइनबीच गाजामा युद्ध हुँदा उनी त्यतै थिइन् । नेपालीको उद्दारका लागि प्रशंसनीय काम गरेको भन्दै निकै चर्चा पनि भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको एमाले सम्मिलित सरकारले जेठ २४ गते ११ मुलुकको राजदूतलाई फिर्ता बोलाउने निर्णय गर्दा उनी पनि परिन् । तर, फर्किने क्रममा अर्दलीलाई त्यतै छोडिदिइन् ।

यता, केपी शर्मा ओली नेतृत्वको सरकारले साउन १४ गते १८ मुलुकको निम्ति राजदूत सिफारिस गर्दा रिजाल फेरि परिन् । उनी सिफारिस भएसँगै अष्ट्रेलियाबाट कैलाशराज पोखरेललाई फिर्ता बोलाइएको छ । तर, कान्ताको नाम मात्रै संसदीय सुनुवाइ समितिमा नपठाइएपछि अष्ट्रेलियाको निम्ति राजदूत नियुक्ति अलपत्र पर्ने देखिएको छ । परराष्ट्रले भने यसविषयमा केही बोलेको छैन । 

सरुवाको चहलपहल 

यतिबेला परराष्ट्रमा कर्मचारी सरुवाको चहलपहल छ । कूटनीतिक कर्मचारी बनेर विदेश जान चर्को प्रतिस्पर्धा छ । परराष्ट्रले वर्षमा दुईपटक कर्मचारी सरुवा गर्छ । साउन र माघमा नासुदेखि उपसचिवसम्मको सरुवा हुन्छ । सरुवाका लागि हाल परराष्ट्रले ‘वर्कआउट’ गरिरहेको छ । झण्डै तीन दर्जन कर्मचारी सरुवाको सूचिमा रहेको स्रोत बताउँछ । १३ नासु, चार उपसचिवको पद रिक्त छ । युएई, जेद्दा, लण्डन र साउथ अफ्रिकामा जानेको टुंगो छैन । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू