बैतेश्वरमा चरम आर्थिक अनियमितता, अध्यक्षविरुद्ध दर्जनौं उजुरी

बैतेश्वरमा चरम आर्थिक अनियमितता, अध्यक्षविरुद्ध दर्जनौं उजुरी
सुन्नुहोस्

पञ्चायतविरुद्धको आन्दोलनमा जनचेतना फैलाएर राजनीतिक रुपमा सचेत गाउँका रुपमा स्थापित दोलखाको बैतेश्वर गाउँपालिका भ्रष्टाचार र आर्थिक अनियमितताको दलदलमा फस्दै गएको छ । राज्यको सम्पत्ति दोहन र कुशासनमा गाउँपालिका अब्बल ठहरिएको छ । 

अध्यक्ष छवि लामाको मनपरीतन्त्रले गाउँपालिका बद्नाम बनेको आरोप छ । गाउँपालिकामा अध्यक्षको रजाइँ चलेपनि जनप्रतिनिधिहरु उनको अगाडि नतमस्तक बनेको अवस्था छ । नेपाली काँग्रेसबाट निर्वाचित लामाको यो दोस्रो कार्यकाल हो । 

पहिलो कार्यकालमा विभिन्न अनियमिततामा मुछिएका उनी दोस्रो कार्यकालमा पनि अनियमिततामै डुबेको बताइन्छ । आँखैअगाडि अनियमितता हुँदा पनि अध्यक्षको सामुन्ने जनप्रतिनिधिले मौनधारण गरिरहेका छन् । इन्धनदेखि लिएर रासन पानीसम्ममा भ्रष्टाचार भएको स्रोत बताउँछ । 

स्रोतका अनुसार जनप्रतिनिधि अध्यक्षसँग डराउने गरेका छन् । अध्यक्षको अगाडि बजेटका लागि हात फैलाउनुपर्ने भएकाले उनीहरुले मुखमा बुझो हालेको स्रोतको जिकिर छ । जनप्रतिनिधिहरु चुप बसेपछि स्थानीयले अध्यक्षको विरोध गर्न थालेका छन् ।

खुलेआम गुण्डागर्दी

अध्यक्षले गाउँपालिकामा रजगज गरेका छन् । उनले गाउँपालिकाको कार्यालयबाहिर जतिबेला पनि एक दर्जन युवक खटाउने बताइन्छ । त्यसैले वडाध्यक्षहरु चुप लागेको स्रोतको भनाइ छ । एक जनप्रतिनिधिले नाम नखुलाउने शर्तमा भने, ‘उनको अगाडि आवाज निकाल्नु भनेको आफ्नो खुट्टामा आफैं बञ्चरो हान्नुझैं हो । गाउँपालिका कार्यालयबाहिर सँधै १०–१२ जना केटा हुन्छन् । उनीहरुले कुट्ने होकि भन्ने डरले जनप्रतिनिधि कोही बोल्दैनन् ।’ 

ती जनप्रतिनिधिका अनुसार अध्यक्ष लामाले पहिले हस्ताक्षर गराउने अनि निर्णय गर्ने गरेका छन् । कार्यपालिका सदस्यलाई निर्णयबारे जानकारी नै नहुने उनको भनाइ छ । भन्छन्,‘गाउँपालिकामा अनौठो नियम छ । सुन्दापनि तपाईंलाई आश्चर्य लाग्न सक्छ । पहिले कार्यपालिका सदस्यलाई हस्ताक्षर गर्न लगाउँछन् अनि निर्णय गर्छन् । कार्यपालिका सदस्यलाई के निर्णय गरिएको छ ? भन्ने थाहा नै हुँदैन । चुपचाप हस्ताक्षर गर्यो, सकियो ।’ 

गत आर्थिक वर्षमा अध्यक्षले वडालाई बजेट नै दिएनन् । आफैंले बजेट खटनपटन गरेकाले केही जनप्रतिनिधिले विरोध जनाए । तर, अन्तिममा उनीहरुले हार मानेनन् ।

इन्धनको नाममा लुट 

अध्यक्ष लामा निर्माण व्यवसायी हुन् । उनको वैशाखेश्वर निर्माण सेवा नामक ठेकेदार कम्पनी छ । उनको दुई छोरामध्ये एक निर्माण व्यवसायी र अर्का अस्पतालमा जागिरे छन् । गाउँपालिकाभित्रको सबै ठेक्कापट्टा उनकै कम्पनीमार्फत हुँदै आएको छ । जबकी सो कानुनविपरीत छ । 

उनको दुईटा डोजरमार्फत् गाउँपालिकाभित्र विकासका काम हुने गरेको छ । गाउँपालिकामा उनको कम्पनीको मात्र भ्याट बिल पेश हुन्छ । सडक मर्मतदेखि लिएर पहिरो हटाउने, खेल मैदान मर्मत गर्नेलगायतका काम उनकै डोजरबाट हुँदै आएको छ । यता, डोजरमा लाग्ने इन्धन उनले गाउँपालिकाबाट लिने गरेका छन् । 

इन्धनबापत पछिल्लो तीन महिनामा १२ लाख रुपैयाँ भुक्तानी लिइएको छ । गाउँपालिकाको गाडी हुँदाहुँदै पनि भाडाको गाडी बुकिङ्ग गरेर आर्थिक अनियमितता गर्ने गरिएको स्रोत बताउँछ । गाउँपालिकाको तीन वटा गाडी र लगभग ३३ वटा मोटरसाइकल छन् । 

तैपनि, उनले आफ्ना नातिनीहरुलाई भेट्न जाँदा, उनीहरुलाई घुमाउन लैजाँदा भाडाको गाडी बुकिङ्ग गर्ने गरेका छन् । त्यसको खर्च गाउँपालिकाको खातामा जोड्ने गरिएको छ । यता, वडाध्यक्षलाई भने १० लिटर इन्धन लिन पनि धौंधौं छ । रासन भत्ताको नाममा पनि लुट मच्चिएको छ । रासनबापत अध्यक्षले मासिक ७० हजार रुपैयाँ बुझ्ने गरेका छन् । 

करार कर्मचारीको ओइरो, आफ्नालाई प्राथमिकता 

हाल गाउँपालिकामा एक सयभन्दा बढी करारका कर्मचारी छन् । स्थायीभन्दा बढी करारका कर्मचारी रहेको स्रोतको भनाइ छ । स्थायी कर्मचारी हुँदाहुँदै पनि उनले करारमार्फत् काम लगाउने गरेका छन् । आफ्ना नजिकका कर्मचारीलाई राख्ने र अन्यलाई फाल्ने क्रम चलिरहेकै छ । 

गाउँपालिका अध्यक्षले स्वकीय सचिवसमेत राखेका छन् । उनले आफ्नो नातेदारलाई स्वकीय सचिवको जिम्मेवारी दिएको बताइन्छ । त्यस्तै, अन्य पदमा पनि उनले आफ्नो नातेदार भर्ति गरेका छन् । स्थानीय पालिकामा संघीय सरकारबाट प्रमुख प्रशासकीय अधिकृत पठाउने गरिएको छ । 

तर, अध्यक्ष लामाले प्रमुख प्रशासकीय अधिकृतलाई टिक्नै दिँदैनन् । निमित्तको भरमा प्रशासन चलाउँदा आर्थिक अनियमितता गर्न सहज हुने भएकाले प्रमुख प्रशासकीय अधिकृत आउनेबित्तिकै लखेट्ने गरिएको हो । मनपरी सरुवा गरिदिएपछि गाउँपालिकाका स्थायी प्राविधिक कर्मचारी रुष्ट बनेका छन् । आर्थिक वर्षको अन्तिममा आउने रकम कम हुँदा उनले धेरै करार र प्राविधिक कर्मचारीलाई अवकाश गरेका छन् । 

आफ्नो जागिर जोगाउन चाहने कर्मचारीहरु प्रत्येक छ महिनामा पैसा बुझाएर म्याद थप गर्न बाध्य छन् । स्थायी कर्मचारी पनि अध्यक्ष लामाको सामुन्ने निरीह छन् । अध्यक्षले भनेझैं सञ्चित कोषबाट चेक काटेर दिनुपर्ने बाध्यता उनीहरुको छ । 

‘अध्यक्षले गाउँपालिकामा उधुम मच्चाएका छन् । चाँहिदो–नचाँहिदो कर्मचारी भर्ती गरेको छ, निकालेको छ । कर्मचारी नियुक्त गर्ने, हटाउने कुनै नियमकानुन नै छैन् । मनलाग्दी चलेको छ । बजेट आफ्नो हिसाबले बनाएका छन् । ज्वाइँदेखि लिएर भतिजोसम्मलाई जागिर दिएका छन् । आफ्नो निकटलाई भर्ती गरेका छन् । गत वर्ष वडाध्यक्षलाई बजेटबारे जानकारी नै गराइएन । उनका भतिज सुभाष लामाले आएर बजेट टाइप गरे, गए’,स्रोतले भन्यो । 

कानुन उल्लंघन 

सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले गुठीको जग्गामा मोहियानी हक नलाग्ने ठहर गरेको छ । गुठीबापत राखेको जग्गा कमाएकै आधारमा मोहियानी हक कायम गर्दा त्यस्तो भाग टुक्रयाएर बिक्री गर्ने अवस्था सिर्जना हुने इजलासको ठम्याइ छ । गुठीको जग्गामा गुठीयार मोही हुन पाउने कानुनी बन्दोबस्त समेत नभएको इजलासले व्याख्या गरेको छ । 

तर, गाउँपालिका अध्यक्षले गुठीको जग्गा आफ्नो नाममा रजिष्ट्रेशन पास गरेको पाइएको छ । त्यो जग्गाबापत उनले गाउँपालिकाबाट ३० लाख रुपैयाँ दिएका छन् । जसको प्रमाण कार्यालयको लेखा शाखामा छ । वडा नम्बर ३ निवासी दिपक उप्रेतीलाई पुनः मोही कायम गराउन पालिकाको लेटरप्याड र छाप दुरुपयोग गरी अध्यक्षले कानुनविपरीत सिफारिस प्रदान मात्र होइन्, उनको छोरालाई एमबीबीएस अध्ययनका लागि रकम पनि उपलब्ध गराएको पाइएको छ । 

अख्तियारमा दर्जनौं उजुरी 

अध्यक्ष लामाविरुद्ध हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा दर्जनौं उजुरी परेको छ । गाउँ विकासका लागि आएको रकमको चरम दुरुपयोग भएपछि स्थानीयले अख्तियार गुहारेका हुन् । साउनमा मात्र दुई वटा उजुरी परेको छ । 

उजुरीको दर्ता नम्बर सी–०००३८० र सी–००२०४१ रहेको छ । अख्तियारले सो उजुरीमाथि छानबिन भइरहेको बताएको छ । उनी बयानका लागि आज अख्तियार गएको स्रोत बताउँछ । तर, अध्यक्ष लामाले भने आफूलाई अख्तियारमा उजुरी परेकोबारे जानकारी नभएको दाबी गरे ।

उनले भने, ‘मलाई अख्तियारमा उजुरी परेकोबारे कुनै जानकारी छैन । म अख्तियार गएको पनि छैन ।’

टिप्पणीहरू