‘विद्रोहीपक्षले नै बम लुकाएको बिर्सिंदा समस्या’
दुई साताअघि पाँचथरको फालेफुङ गाउँपालिका–५, डाँडागाउँस्थित आइतराज केरुङको घरमा बम विस्फोट भयो । विस्फोटमा परेर डेरामा बस्दै आएका दिलिप साँवाका छोरा ११ वर्षीय दिप्सन र छोरी २ वर्षीया प्रिन्साको ज्यान गयो ।
त्यस्तै, स्थानीय १० वर्षीय पवन राई र ७ वर्षीय दिपसन राई पनि घाइते भए । बम सशस्त्र द्वन्द्वकालकै भएको प्रहरी निष्कर्ष छ । माओवादी कार्यकर्ता आइतराजका बालबालिकाहरु घरनजिकै अम्रिसो बारीमा खेलिरहँदा उक्त विस्फोट भएको थियो ।
बारीमा भेटिएको वस्तुलाई खेलौना ठानेर खोल्न खोज्दा विस्फोट भएको थियो । उक्त विस्फोट भएको पदार्थ ‘ह्याण्डमेड सकेट बम’ भएको प्रहरीको भनाइ छ । घटनापछि गरिएको सर्च अभियानका क्रममा अर्को बम पनि सोही ठाउँमा फेला परेको थियो ।
द्वन्द्वकालमा उक्त गाउँमा दुई पक्षका सेनाबीच भिडन्त भएको स्थानीय बताउँछन् । यसअघि पनि पाँचथरमा द्वन्द्वकालको बम विस्फोट भएको थियो । २०७४ वैशाख ४ गते हिलिहाङ गाउँपालिका–७, स्थित जंगलको ओढारमा बम पड्किँदा दुई जना घाइते भएका थिए । बाख्रा चराउन गएकी १५ वर्षीया लक्ष्मी राई र १७ वर्षीय सुजन राईले ओढारमा आगो बालेपछि बम पड्किएको थियो । पाँचथरमा मात्र होइन, मुलुकभरका विभिन्न जिल्लामा बेलाबखत बम विस्फोट हुँदै आएको छ ।
त्यस्ता विस्फोटक पदार्थ सशस्त्र द्वन्द्वकालमा जथाभावी छोडिएका बमसँगै बारुदी सुरुङ्हरु रहेको पुष्टि हुने गरेका छन् । गत वर्षको कात्तिकमा कालिकोटको तिलागुफा नगरपालिका–१०, रानावाडास्थित बम विस्फोट हुँदा दुई बालिकाको ज्यान गयो ।
स्थानीय ४ वर्षीया झरना थापा र सरस्वती रानाको निधन भएको थियो । अर्का तीन जना पनि गम्भीर घाइते भए । घरनजिकै कोदोबारीमा खेल्ने क्रममा बालबालिकाले बम भेटाएका थिए । तर, खेलौना ठानेर खेल्ने क्रममा पड्केको थियो ।
प्रहरी अनुसन्धानको क्रममा उक्त बम पनि सशस्त्र द्वन्द्वकालमा राखिएको पाइएको थियो । यसअघि ०७८ असोज २३ गते अछामको रामारोशन गाउँपालिका–५, पातलमा बम विस्फोट हुँदा एक युवक गम्भीर घाइते भए । खेतमा काम गरिरहेको अवस्थामा बम विस्फोट हुँदा स्थानीय ३३ वर्षीय वृख रोकाया घाइते भएका थिए ।
सो क्षेत्र पनि जनयुद्धको समयमा माओवादी लुक्ने ठाउँ रहेको बताइन्छ । उक्त बम पनि द्वन्द्वका बेलामा छोडिएको खुलेको थियो । पछिल्लो समय सशस्त्र द्धन्द्धकालमा जथाभावी छोडिएका विस्फोटक पदार्थहरुले धमाधम मानिसको ज्यान लिइरहेको छ ।
द्वन्द्वकालका बम र विस्फोटक पदार्थका कारण नागरिकले अनाहकमा ज्यान गुमाउनु परिरहेको छ । जनयुद्ध समाप्तिको झण्डै दुई दशक बित्न लागिसक्दा समेत त्यसबेला प्रयोग गरिएका विस्फोटक पदार्थको जोखिम अझै पनि कायमै रहेको यी घटनाले देखाउँछ । यद्यपि, त्यस्ता पदार्थको ‘खोजी’ र ‘डिस्पोज’ गर्ने काम भने भएको पाईंदैन ।
जनयुद्ध समाप्त, विस्फोट आतंक कायमै
माओवादी जनयुद्ध नेपालको सशस्त्र द्वन्द्व पनि हो । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्ने उद्देश्यका साथ २०५२ फागुल्न १ गते माओवादीले जनयुद्धको शुरुवात गर्यो । जनयुद्ध २०६३ सालसम्म चल्यो । युद्धका बेला विद्रोही र सरकार पक्ष दुवैले आफ्नो क्षमताले भ्याएसम्मका घातक हतियारको प्रयोग गरे । एक दशक लामो जनयुद्धमा १७ हजारबढी मानिसको ज्यान गयो भने हजारौं घाइते भए ।
२०६३ मंसिर ५ गते सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भयो । सम्झौतासँगै जनयुद्धको औपचारिक रुपमा अन्त्य त भयो नै नागरिकले अनाहकमा ज्यान गुमाउनु नपर्ने अपेक्षा पनि गरिएको थियो । अर्कोतर्फ, युद्धको समयमा प्रयोग गरिएका विस्फोटक पदार्थ निष्क्रिय बनाउन सरकार र विद्रोही पक्ष दुवैले काम थाल्ने समझदारी भएको थियो ।
विस्तृत शान्ति सम्झौता बुँदा नम्बर ५.१.४ मा दुवै पक्षले युद्धको समयमा प्रयोग गरिएका धराप तथा बारुदी सुरुङ्गहरुको रेखाङ्कन, भण्डारण ३० दिनभित्र एकअर्कालाई जानकारी दिने र ६० दिनभित्र निष्क्रिय र निर्मूल गर्न एकअर्कालाई सहयोग गर्ने उल्लेख छ ।
यद्यपि, जनयुद्ध सकिएपनि त्यतिबेलाको विस्फोटक पदार्थले अहिले पनि आतंक मच्चाइरहेको छ । शान्ति सम्झौताको झण्डै १९ वर्ष हुन लाग्दा अहिले पनि द्वन्द्वका बमले सर्वसाधारणले ज्यान गुमाउनुपरिरहेको छ । यसले आम सर्वसाधारण समेत भयभित भएका छन् । कुन बेला कहाँ विस्फोटक पदार्थले ज्यान लिने हो ? भन्ने अवस्थाले त्रास बढाएको छ ।
सरकार र विद्रोही पक्ष नै गम्भीर भएनन् : मानव अधिकार आयोग
राष्ट्रिय मानव अधिकार आयोगले सशस्त्र द्वन्द्वकालका विस्फोटक पदार्थ खोजतलास गर्न सरकार र विद्रोही पक्ष दुवै गम्भीर नहुँदा सर्वसाधारणले अकालमै ज्यान गुमाउनुपरेको बताएको छ ।
आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्ले द्वन्द्वकालका विस्फोटक पदार्थ हटाउन सरकार र विद्रोही पक्ष दुवैको पटकपटक ध्यानाकर्षण गराउँदा समेत वेबास्ता गरिएको गुनासो गर्छन् । उनले भने, ‘नागरिकले अनाहकमा ज्यान गुमाउँदा समेत सरकार र विद्रोही पक्ष नै गम्भीर भएका छैनन् ।’
‘वर्षेनी यस्ता दुई–तीन वटा घटना हुने गरेका छन् । तापनि कोही जिम्मेवार र संवेदनशील नहुनु निकै दुःखदपूर्ण छ,’ उनले थपे । शान्ति सम्झौतामा विस्फोटक पदार्थ निष्क्रिय गर्न दुई महिना मात्र समय तोकिएको हुँदा पनि यस्तो अवस्था निम्तिएको उनको ठहर छ ।
सहायक प्रवक्ता काफ्लेले भने, ‘दुई महिनामा भ्याउने जति काम गरेर अरु त्यसै छोडिएको पनि देखिन्छ ।’ उनले यस्ता घटनाको बढोत्तरीसँगै नागरिक आफ्नै घरमा समेत ढुक्क भएर बस्न नसकेको भन्दै द्वन्द्वकालमा जथाभावी छोडिएका विस्फोटक पदार्थ निष्क्रिय बनाउने कार्य पुनः सञ्चालन गर्न आवश्यक रहेको बताए ।
‘देशभर यस्ता विस्फोटक पदार्थको जोखिम छ । सर्वसाधारणले ढुक्क भएर बस्न सकेका छन् । त्यसैले, त्यस्ता पदार्थको खोजतलास र निष्क्रिय कार्य पुनः शुरु गर्नुपर्छ,’ उनले भने ।
विद्रोहीले नै बम राखेको बिर्सिंदा समस्या
नेपाल प्रहरीका प्रवक्ता नायव महानिरीक्षक (डिआईजी) दानबहादुर कार्की सशस्त्र द्वन्द्वमा राखिएका विस्फोटक पदार्थबारे सम्बन्धित पक्षलाई नै स्मरण नरहेकाले खोजतलासमा समस्या भएको बताउँछन् । ‘द्वन्द्वकालमा विस्फोटक पदार्थ राख्नेहरुले नै त्यस्ता पदार्थ कहाँ राखिएको थियो भनेर बिर्सिएका छन्,’ उनले भने, ‘यसले गर्दा खोजतलासमा समस्या हुनुका साथै यस्तो अवस्था आएको हो ।’
उनले नागरिकको सुरक्षाप्रति सुरक्षा निकाय गम्भीर रहेपनि पूर्वसूचना बिना कुनै पनि ठाउँमा विस्फोटक पदार्थको खोजतलास नगरिने बताए । ‘कँही कतै बमलगायत विस्फोटक पदार्थ राखिएको सूचना, जानकारी प्राप्त भएमा वा शंका लागेमा मात्र सो स्थानमा प्रहरी खट्छ । अनि त्यस्ता पदार्थ निष्क्रिय गरिन्छ । बिना सूचना कुनै पनि ठाउँमा यस्ता पदार्थको खोजतलास गरिँदैन,’ प्रवक्ता कार्कीले भने ।
टिप्पणीहरू