रविले ठगीको पैसाले मिडिया चलाउँदै तलबभत्ता खाएको पुष्टि : डा. महत

रविले ठगीको पैसाले मिडिया चलाउँदै तलबभत्ता खाएको पुष्टि : डा. महत

सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेले ‘क्लिन चिट’ पाएको राष्ट्रिय स्वतन्त्र पार्टीको दाबी छ । संसद बैठकपछि संसद भवनबाट बाहिरिने क्रममा उक्त पार्टीका सांसद शिशिर खनालले सहकारीको रकम गोर्खा मिडियामा लैजान लामिछानेको कुनै भूमिका नदेखिएको कारण ‘क्लिन चिट’ पाएको दावी गरिएको छ । 

‘समितिको छानबिनमा सहकारीबाट पैसा निकाल्न कुनै पनि हिसाबले रवि लामिछानेको भूमिका देखिएन, जीवी राईसहित सहकारीका सञ्चालकहरुको योजना र निर्देशनमा पैसा गएको देखिन्छ’, उनले भने, ‘उहाँलाई जुन आरोप लगाइएको थियो, त्यसबाट पूर्णरुपमा क्लिन चिट पाउनुभएको छ ।’

सभापति लामिछाने सहकारीको तत्कालीन प्रबन्ध निर्देशक भएको कारण चेक हस्तक्षार गर्नु स्वाभाविक रहेको र त्यसको भने जिम्मेवार लिनुपर्ने उनको भनाई छ । थपे, ‘जहाँसम्म गोर्खा मिडियाको सवाल छ, पैसा त सहकारीबाट आएको हो । स्वाभाविक रूपमा उहाँ एमडी हुनुहुन्थ्यो । एमडीको रूपमा चेक साइन गरेको कुरामा कुनै कानूनी उत्तरदायित्व जन्मिन्छ भने त्यो उहाँले वहन गर्नुपर्छ । त्यो उत्तरदायित्व बहन गर्न कामकारवाही अगाडि बढाउन भनिएको छ ।’

उता नेपाली कांग्रेसले भने लामिछानेले कुनै ‘क्लिन चिट’ नपाएको टिप्पणी गरेको छ । प्रवक्ता समेत रहेका सांसद डा. प्रकाशशरण महतले ठगीको पैसाले मिडिया चलाएको र तलबभत्ता खाएको पुष्टि हुँदा–हुदै पनि ‘क्लिन चिट’ पाएको भन्नु गैरजिम्मेवारपूर्ण तर्क भएको बताए । 

गोर्खा मिडिया कम्पनी नै ठगीको जगमा बनेको तर्क गर्दै उनले भने, ‘लिनै नहुने, लिनै नमिल्ने पैसा लिएर उहाँले तलबभत्ता खानु भएको छ । त्यैपनि दोषी हुँदै होइनौं भनेर घोषणा गर्दै हुनुन्छ भने त्योभन्दा गैरजिम्मेवारपूर्ण कुरा के हुन सक्छ ।’

समितिका सभापतिले नै गोर्खा मिडियाको यथार्थता भनिसकेको भन्दै थपे, ‘उहाँ (रवि) को स्पेसिफिक संलग्नता प्रतिवेदन पूरा पढेपछि आउला । समितिका सभापति सूर्य थापाले प्रतिवेदन संक्षिप्त पढ्नुभो । उहाँले नै गोर्खा मिडिया प्रालिले ८५ करोड रूपैयाँ सहकारीबाट लिएको छ, अन्य कहीँबाट पनि लिएको छैन, त्यो मिडिया नै सहकारीको पैसाबाट चलेको रहेछ भनेर त्यहीँ भन्नुभो । अब यसबाटै जज गर्नुहोस् को दोषी छ भनेर ।’

टिप्पणीहरू