अर्काको व्यक्तिगत विवरण दुरुपयोग गरेकालाई १० करोड ऋण

अर्काको व्यक्तिगत विवरण दुरुपयोग गरेकालाई १० करोड ऋण

मोरङको विराटनगरस्थित लक्ष्मी सनराइज बैंकका एक ग्राहकले अर्का ग्राहकको व्यक्तिगत विवरण दुरुपयोग गरेर करोडौं रुपैयाँ ऋण लिने प्रकिया अगाडि बढाएको तथ्य खुलेको छ । अर्काको व्यक्तिगत विवरण दुरुपयोग गरेर करोडौंमध्ये यसअघि पौने लाख निकालिसकेका ती व्यक्तिले थप ऋणको प्रक्रिया अगाडि बढाएपछि वास्तविकता बाहिर आएको बताइन्छ । 

बेलबारी नगरपालिका–३ का प्रताप थापाले गाडी किन्न राखेको एकाघरका सदस्य छोराको व्यक्तिगत ग्यारेन्टीको सम्पत्ति विवरणको दुरुपयोग गरेर अर्कै व्यक्तिले लाखौं रुपैयाँ ऋण निकालेका हुन् । उनले १० करोड रुपैयाँ ऋण निकाल्ने प्रक्रिया अगाडि बढाउने क्रममा केही झिकेको बताइन्छ । प्रतापका अनुसार सन् २०१५ मा गाडी किन्न ऋण लिँदा उनले छोरा प्रभाषलाई व्यक्तिगत ग्यारेन्टी राखेका थिए । 

ऋण चुक्ता गरिसकेकाले सो गाडी उनको नाममा आइसकेको छ । तर, गाडी किन्न ऋण लिँदा बैंक ग्यारेन्टी राखेको सम्पत्ति विवरणको कागजात दुरुपयोग गरेर रामेश्वर सेढाईले सो बैंकबाट ऋण निकाल्ने गरेको पाइएको छ । रामेश्वरले बैंकको वीरगञ्ज शाखाबाट २०७७ जेठ १४ गते ४८ हजार ८६७, जेठ १७ गते २६ लाख ७६ हजार ९६२ रुपैयाँ ऋण लिइसकेका छन् ।  

बैंकसँग मिलेमतो गरेर उनले ऋण लिएको प्रभाषको आरोप छ । ‘बैंकसँग मिलेमतो गरेर रामेश्वरले गत साउन २१ गते १० करोड ‘टर्मलोन’ का लागि आफूलाई पुनः व्यक्तिगत ग्यारेन्टी राखेर प्रक्रिया बढाएको पाइएको छ’, उनले भने । 

एउटाले बैंक ग्यारेन्टी राखेको कागजात अर्कोले प्रयोग गरेर पटकपटक ऋण निकाल्नुलाई स्वाभाविक रुपमा लिन नसकिने उनी बताउँछन् । पहिले लाखौं रुपैयाँ ऋण लिइसकेको व्यक्तिले पुनः १० करोड रुपैयाँ ऋण लिन लागेकोमा कर्मचारीको पनि मिलेमतो देखिएको प्रभाषको भनाइ छ । 

कर्मचारीहरुले रकम लेनदेन गरेर आफ्नो सम्पत्ति विवरणको कागजात रामेश्वरलाई उपलब्ध गराएको उनको ठम्याइ छ । प्रतापका अनुसार उनीहरुले रामेश्वरलाई देखेकै छैनन् । प्रतापको घरमा सांग्रिला विकास बैंक भाडामा बसेको छ । कारोबारका क्रममा बैंकले काठमाडौंको कमलादीस्थित कर्जा सूचना केन्द्रबाट केही समयअघि मगाएको ‘सीआईसी’ रिपोर्टमा रामेश्वरले यसअघि दुई पटक ऋण लिइसकेको र फेरि ऋण लिने प्रक्रियामा रहेको खुलेको छ । दुईपटक ऋण लिँदा रामेश्वरले प्रभाषलाई नै व्यक्तिगत ग्यारेन्टी राखेका छन् । 

छानबिनमा बैंकको आनाकानी

आफ्नो व्यक्तिगत सम्पत्ति विवरण दुरुपयोग भएपछि प्रतापले बैंकलाई जानकारी गराएका छन् । तर, बैंकले छानबिनमा चासो नदेखाएको भन्दै उनले दुःखेसो पोखे । उनका अनुसार बैंकले ‘हामी सुधार गरिदिन्छौं’ भनेर आलटाल गरेको छ । विराटनगरस्थित बैंकका म्यानेजर सुदीप रायमाझीले आफूहरुबाट गल्ती भएको स्वीकार गरेको बाबुछोराको भनाइ छ । 

बैंकले कर्जा सूचना केन्द्रमा पत्राचार गरेर ‘सीआईसी’ रिपोर्टमा बाँकी रहेका सबै कर्जा हटाउन लगाएपनि हटेको छैन् । प्रतापले विराटनगर शाखाबाट ग्राहक बनेपनि कुनै कारोबार नगरेको बताए । बैंकको नियमानुसार कर्जा प्रवाह गर्दा एकाघरको अंश लाग्ने सदस्यहरुले मात्र व्यक्तिगत ग्यारेण्टी राख्न मिल्ने प्रावधान छ । तर, अपरिचित रामेश्वरले चिन्दै नचिनेको व्यक्तिको सम्पत्ति विवरण प्रयोग गरेर कसरी ऋण लिए ? भन्ने गम्भीर प्रश्न उठेको छ । 

यता, बैंकका म्यानेजर रायमाझीले कारोबारका क्रममा कहिलेकाँही गल्ती हुने सहजै बताए । त्यसबारे आन्तरिक अनुसन्धान थालिएको पनि उनले जानकारी दिए ।

टिप्पणीहरू