श्रीमती मारेर आफ्नै ज्यान सखाप

श्रीमती मारेर आफ्नै ज्यान सखाप

इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ भित्तेमा गए राती श्रीमानले श्रीमतीलाई मारेर आत्महत्या गरेका छन् ।

सन्दकपुर गाउँपालिका वडा नम्बर १ भित्तेका ४६ वर्षीय उर्जबहादुर राईले ४० वर्षीया श्रीमति फूलमाया राईकाे गए राती हत्या गरी आत्महत्या गरेका हुन् ।

घटना प्रकृति हेर्दा राईले चियाको बाेट कलमी गर्ने खुर्पाले टाउको,कुम र शरिरको विभिन्न भागमा प्रहार गरेको देखिएको वडा नम्बर १ का वडाध्यक्ष रहर राईले बताए । श्रीमतीकाे हत्या गरी घरदेखि अन्दाजी १५ मीटर तल बाटाेमा शव फ्याँकेर घरदेखि डेढ सय मीटर तल रुखमा झुण्डिएको अवस्थामा उर्जबहादुरलाई भेटिएको पनि उनले जानकारी दिए ।

उर्जबहादुरका बुबा सधै‌ं झैं दूध पुर्याउन डेरी जाने क्रममा बाटोमा बुहारीकाे शव देखेपछि खबर गरेका थिए । मृतकहरुकाे २६ र २० वर्षका दुई छाेरा छन् । अहिले घटना स्थलमा प्रहरी पुगेर मुचुल्का गर्ने काम भैरहेकाे छ । घटना कसरी भयाे भन्ने अनुसन्धान हुन बाँकी नै छ तर श्रीमान श्रीमती दुवै जना मदिरा सेवन गर्ने र सामान्य घर झगडा भने भइरहने गरेको छिमेकीहरु बताउँछन् ।

टिप्पणीहरू