पुलिसका कोशेली काण्ड

पुलिसका कोशेली काण्ड

सरकारसँगै गृहमन्त्री फेरिएपछि के के न गरौंला झैं गरी तत्कालीन एआइजी श्याम ज्ञवालीविरुद्ध विभागीय कारवाही गर्न तम्सिएका आइजिपी बसन्तबहादुर कुँवरको जोश अन्त्यमा आएर स्खलित भएको छ । आफूविरुद्ध गतिलो कारवाही नहुने भएसँगै ज्ञवाली बेलायततिर हान्निएका छन् । 

त्यसैगरी आइजिपी कुँवरले विभिन्न उजुरीमाथि छानबिन गर्दा कैफियत भेटिएका अन्यलाई पनि विभागीय कारबाही नगरी फुर्सद दिएका छन् । स्रोतका अनुसार यसरी उन्मुक्ति पाउनेमा मधेश प्रदेश प्रमुख डिआइजी यज्ञविनोद पोखरेल छन् । जनकपुरमा रहेका पोखरेलविरुद्धको उजुरीमाथि छानबिन हुँदा एक पटक ९ लाख ९९ हजार र अर्को पटक २५ लाख रूपैया लिएको भेटिएको बताइन्छ । उनले छोरालाई पकेट खर्चसमेत बेलाबेला बटुल्दै आएको मोबायलका म्यासेजले पुष्टि गरेको दावी स्रोतको छ ।

पोखरेल कात्तिक दोस्रो सातातिर रिटायर्ड हुँदै छन् । त्यसैगरी २ नम्बर प्रदेशको तालिम केन्द्रका समादेशक ईश्वर कार्कीले पनि उनै घुमुवामार्फत असुली धन्दा चलाएको दावी स्रोतको छ । भाउजूको डिमाण्ड भन्दै ए भाइ एउटा फ्रिज चाहियो । लौ ल्याइदेऊ त । भनी खबर पठाएको पनि देखिन्छ । 
त्यसैगरी धनुषाका एसपी भुवनेश्वर तिवारीसँग बिचौलियाले दैनिकजसो बातचित गरेको देखिन्छ ।

तिवारीले घरमै श्रीमतिमार्फत नगद नजराना लिने गरेको दावी स्रोतको छ । केही वर्षअघि पनि उनी धनुषामैं थिए । सर्वेन्द्र खनाल एसपी भई धनुषाको कमाण्ड समाल्न गएको बेला आचरणविपरीत काम गर्ने एक जना डिएसपीलाई निलम्वन गरिएको थियो । उनी तराईका सशस्त्र समूहसँग मिलेर धनुषावासीलाई आँतकित तुल्याउँदै असुली धन्दा गर्थे । पछिल्लो समय बर्खास्त नै भए । त्यसैगरी इलामको प्रहरी काण्ड पनि त्यतिकै फासफुस भएको छ । त्यहाँका एसपी र डिएसपी मिलेर बजारको मादल जसले पनि बजाउँछ भन्ने हिसावले चारित्रिक कमजोरी देखाएका थिए । 

ज्ञवालीलाई सहजै बहिर्गमन

मन परेका मान्छेलाई बचाउन पर्‍यो भने नेता र ठूला हाकिमसँग बिचौलियाले कसरी सेटिङ मिलाउँछन् भन्ने दृष्टान्त एआइजी श्याम ज्ञवालीविरुद्ध गरिएको छानबिन प्रकरणलाई लिन सकिन्छ । स्रोतका अनुसार २५ गते अवकाश पाएका उनलाई २९ भदौको बिहानै पत्नी सीता पाण्डेसहित युकेतर्फ जान दिइएको छ । अचम्म त यहाँसम्म भयो कि एआइजीबाटै रिटायर्ड भएकी मीरा चौधरी र सञ्जीव भण्डारीहरूलाई सलामी नदिई कोठे विदाईमात्र गरिएको थियो । ज्ञवालीलाई भने भव्य सलामी दिइएको बताइन्छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू