भीषण बाढीपहिरोको चार दिनसम्म पनि यात्रुहरु अलपत्र

भीषण बाढीपहिरोको चार दिनसम्म पनि यात्रुहरु अलपत्र

प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले अलपत्र परेका यात्रुहरुको तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले विपदपछि विभिन्न जिल्लामा अलपत्र यात्रीहरुको तुरुन्तै उद्धार गरी गतन्व्यमा पुर्याउन भनिएको छ ।

बाढी, पहिरो र डुबानबाट भएको क्षतिबारे छलफल गर्न समितिले आज गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो । बैठकपछि समितिले जनधनको थप क्षति हुन नदिन तत्काल आवश्यक तयारीका लागि सरकारलाई निर्देश गरेको छ । 

साथै, हवाई भाडा नबढाउन, सडक यातायात सुचारु गर्न, भएका सडक तथा बाटोघाटो तत्काल यातायातका साधन चल्ने गरी मर्मत सम्भार गर्न, सडकमा पहुँच हुन नसकेका जिल्लामा हवाई यातायातको व्यवस्था गर्न समेत भनिएको छ । 

खाद्यान्न, तरकारी, फलफूलको मूल्य बढ्न नदिन, बजार अनुगमन गर्न र पीडितहरुले राहत छिटोभन्दा छिटो पाउने व्यवस्थाका लागि आग्रह गर्दै राज्य व्यवस्था समितिले सरकारलाई सम्भव सबै उपाय प्रयोग गरेर राहत र पुनस्र्थापनाको काम तदारुकताका साथ अघि बढाउन निर्देशन दिएको छ । 

यस्तै, बाढी र पहिरोले नष्ट भएका सिँचाई कुलो, पिउने पानी, विद्युत, टेलिफोन सडक आदिको तत्काल मर्मत गरी जनताको दैनिकी र विपत्तिमा घाइते भएकाहरुको औषधि उपचारलाई सहज बनाउन पनि समितिले भनेको छ ।
 

टिप्पणीहरू