अदालतको आदेश बोकेर एयर होस्टेसहरु निरन्तर धर्नामा

नेपाल वायुसेवा निगमले अन्याय गरेको भन्दै हिजोदेखि संघर्षमा उत्रिएको क्याबिन क्रु एशोसिएननले आज पनि आन्दोलनलाई निरन्तरता दिएको छ । आफ्ना माग सुनुवाई गराउन आन्दोलित हुँदा प्रतिशोध साँधिएको भन्दै एशोसिएसनको नेतृत्वमा क्याविन क्रुहरुले आज निगमको कार्यालयमा धर्ना दिएका हुन् ।
निगममा कार्यरत १७२ क्याविन क्रुले सेवा सुविधामा गरिएको विभेद अन्त्यको माग गर्दै लामो समयदेखि आन्दोलन गरिरहेका छन् । तर, समान सुविधाको माग गर्दै अदालत गुहारेका उनीहरुकै पक्षमा फैसला आएको थियो । सर्वोच्च अदालतले सेवा सुविधामा विभेद नगर्न निगमको नाममा अन्तरिम आदेश जारी गरेको थियो । तर, अदालतको आदेश अवज्ञा गरिएको जनाउँदै क्याविन क्रुहरुले पुन: आन्दोलन थालेका हुन् ।
निमगमा कार्यकारी अध्यक्ष युवराज अधिकारीले माग सम्बोधन गर्न कुनै चासो नदेखाएको एशोसिएसनकी अध्यक्ष प्रदा कार्कीले बताएकी छन् । आज जारी विज्ञप्तिमा भनिएको छ, ‘निगमले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध गई काम गरेको छ । न्यायका लागि लड्दा हामीमाथि प्रतिशोध साँधिएको छ । यसको विरोधमा हामीले मंगलबारदेखि निगमको मुख्य कार्यालयमा हातमा कालो पट्टी बाँधी विरोध प्रर्दशन थालेका छौं । त्यो क्रमलाई आज बुधबार पनि निरन्तरता दिइएको छ ।’
यस सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको ध्यानाकर्षण गराउँदा पनि वेवास्ता भएको एशोसिएसनको दु:खेसो छ ।
टिप्पणीहरू