कलंकीमा स्रोत नखुलेको १९ लाख रुपैयाँ

कलंकीमा स्रोत नखुलेको १९ लाख रुपैयाँ

काठमाडौंमा स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन् । कलंकी बस्ने ३५ वर्षीया सावित्री वली र उनका भाइ न्यूरोड बस्ने २५ वर्षका सुरेश वलीलाई प्रहरीले स्रोत नखुलेको १९ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको छ । 

कलंकीमा शंकास्पद कारोबार भइरहेको गोप्य सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले उक्त स्थानमा विशेष निगरानी गरेपछि हिजो स्रोत नखुलेको १५ लाख फेला परेको हो । उक्त रुपैयाँ बैंकमा जम्मा गर्न लैजाँदै गरेको अवस्थामा प्रहरीले सावित्रीलाई पक्रेको थियो ।

उक्त रकम भारतीय नागरिकको रहेको बताएकी सावित्रीले न्यूरोडस्थित भारतीयको अफिसमा आफू एक वर्षदेखि काम गर्दै आएको जानकारी दिइन् । त्यसपछि प्रहरी सावित्रीलाई साथमा लिएर न्युरोड पुगेको थियो । 

अफिसमा खानतलासी गर्दा उनका भाइ सुरेशबाट थप स्रोत नखुलेको चार लाख रुपैयाँ प्रहरीले बरामद गरेको हो । उनीहरुको साथबाट विभिन्न बैंकको स्लिप पाँच थान र एउटा मोबाइल पनि प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू