आर्थिक सुधारको उपाय खोज्ने जिम्मा पाँच जनालाई, शेयर तथा ऋण लगानी नीति स्वीकृत

आर्थिक सुधारको उपाय खोज्ने जिम्मा पाँच जनालाई, शेयर तथा ऋण लगानी नीति स्वीकृत

मुलुकको समग्र अर्थतन्त्र सुधारका गर्ने उद्धेश्यले आर्थिक सुधार सुझाव आयोग गठन गरिएको छ । सरकारले पूर्वअर्थसचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो । 

हिजोको क्याविनेट बैठकको निर्णयमुताबिक गठित समितिलाई अर्थतन्त्र सुधारका लागि अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ । 

त्यस्तै, थप ५७ वटा नयाँ हिमाल आरोहणका लागि खुला गर्ने निर्णय पनि क्याविनेट बैठकले गरेको छ । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेका थप हिमालहरुको आरोहणका लागि अनुमति दिने निर्णय भएको बताउनुभयो  । 

क्याविनेटले आगामी कात्तिक १९ देखि २३ गतेसम्म इजिप्टको कायरोमा आयोजना हुने 'वल्र्ड अरबान फोरम' मा सहभागी हुन उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई अनुमति दिएको छ । कात्तिक १ देखि ३ गतेसम्म रशियामा आयोजना हुने २२ औं 'इन्टरनेशनल स्पोर्ट्स फोरम'मा युवा तथा खेलकुदमन्त्री तजुलाल चौधरीलाई पठाउने प्रस्ताव पनि स्वीकृत भएको छ ।

त्यसैगरी, शेयर तथा ऋण लगानी नीति २०८१ क्याविनेट बैठकले स्वीकृत गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

टिप्पणीहरू