भो, सुशासनको कुरै नगरौं

भो, सुशासनको कुरै नगरौं
सुन्नुहोस्

मै हुँ भन्ने अपराधीलाई कानुनको कठघरामा उभ्याउन काविल ठानिने नेपाल प्रहरीले आफ्नै संगठनको समेत नीति, उद्देश्य र आचरणविरुद्ध कार्य गर्ने ठूला हाकिमहरूलाई भने नसिहतसमेत नदिई उन्मुक्ति दिएको पाइएको छ ।

स्रोतका अनुसार, नेपाल प्रहरी आफैंले गठन गरेको पूर्वएआइजी श्याम ज्ञवाली, मधेश प्रदेशका तत्कालीन डिआइजी यज्ञविनोद पोखरेल, लालमणि आचार्य र इश्वर कार्कीलगायतका कतिपय हाकिमविरुद्धको प्रतिवेदन बुझ्ने औपचारिकतासँगै फासफुस पारिएको छ । 

ज्ञवालीले आफ्नै नेतृत्वविरुद्ध षड्यन्त्र गरेको, सुन तस्करीलगायतमा संलग्न जीवन चलाउनेसँग आइजिपी बन्न रकम असुलेको, चलाउनेले नै दुबई घुम्ने टिकटलगायतको व्यवस्था गरेको भनी अख्तियारसमेतले हेर्न पर्ने गरी रायसहितको प्रतिवेदन आइजिपी कुँवरसमक्ष बुझाइएको थियो । तर यस्तो सिफारिस गर्नेहरुलाई पंगु बनाउँदै उल्टै यसअघि राम्रो आचरण र मर्यादामा बसेका मीरा चौधरी र सन्दिप भण्डारी जस्ता एआइजीहरूले नपाएको सलामी लिँदै ज्ञवालीले प्रहरी संगठनबाट भदौ २४ गते स–सम्मान बिदाइ लिएर विदेश पलायन भएका छन् ।

यो बिदाइसँगै उनीविरुद्धको सबै कारबाही त्यत्तिकै फासफुस हुन पुगेको छ । त्यसैगरी फासफुस भएको अर्को प्रकरण मधेश प्रदेशका तत्कालीन डिआइजी यज्ञविनोद पोखरेलसँग जोडिएको छ । विभागीय टोलीले छानबिन गर्दा बिचौलियाबाट ९ लाख ९९ हजार र अर्को पटक २५ लाख रुपैयाँँ लिएको फेला परेको थियो । तिनैसँग छोराको पकेट खर्चसमेत असुलेको मोबाइलका म्यासेजहरूले देखाएको थियो । पोखरेल कात्तिक दोस्रो सातातिर रिटायर्ड हुँदै छन् । त्यसैगरी धनुषामै कार्यरत रहेको बेला एसपी लालमणि आचार्यमार्फत पनि गोजी खर्च जोहो गरेको दावी स्रोतको छ । २ नम्बर प्रदेश तालिम केन्द्रका समादेशक ईश्वर कार्कीले पनि उनै घुमुवामार्फत उठ्तीपुठ्ती चलाएको दावी स्रोतको छ । भाउजूको डिमाण्ड भन्दै ए भाइ एउटा फ्रिज चाहियो । लौ ल्याइदेऊ त भनेको देखिन्छ । 

त्यसैगरी धनुषाका एसपी भुवनेश्वर तिवारीले विचौलियासँग हवाट्सअपमा कुराकानी गर्ने र घरमै श्रीमतीमार्फत नगद नजराना लिने गरेको दाबी स्रोतको छ । केही वर्षअघि पनि उनी धनुषामै थिए । सर्वेन्द्र खनाल एसपी भई कमाण्ड सम्हाल्न गएको बेला प्रहरी आचरणविपरीत काम गर्ने एक जना डिएसपी खड्कालाई निलम्बन गरिएको थियो ।

ती डिएसपी तराईका सशस्त्र समूहसँग मिलेर धनुषावासीलाई आतंकित तुल्याउँदै असुली धन्दा गर्थे । पछिल्लो समय उनी बर्खास्त नै भए । त्यसबेला धनुषामै रहेका तिवारीलाई नसिहतसम्म दिइएको बताइन्छ । खड्का र तिवारीले नागरिकलाई आतंकित तुल्याउन गोलीसमेत खर्च गरेको बताइन्छ । यी सबै प्रकरणको राम्रोसँग छानबिन नगरेको, गरे पनि दोषीलाई उन्मुक्ति दिइएकोबारे विभागभित्रै चर्चा हुने गरेको छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू