धेरै बिराली मुसा नमारी

धेरै बिराली मुसा नमारी

*    संघीय राजधानीमा नख्खु खोलाको बाढीले टिनको टहरा बगाउन लागेपछि टहराको छानामाथि बसेर घण्टौं जीवनको याचना गरेका चार जनाको सरकारले बेलैमा उद्धार गर्न सकेन । हेर्दाहेर्दै उनीहरुलाई उर्लिएको भेलले बगायो । तर, बगेकामध्ये युवा चाणिकलाल तामाङले पौडिएर दुई जनालाई बचाए । एक जना आफैं पौडिएर बचे । ४ वर्षीय बालिका भने बेपत्ता भइन् । यता गृह मन्त्री रमेश लेखकले सिंहदरबारमा पत्रकारहरुलाई भनिरहेका थिए ‘प्रयास गर्दागर्दै चारै जनालाई बचाउन सकिएन ।’ उनी समवेदना व्यक्त गर्न हातारोमा थिए । गृहमन्त्री लेखकसँग यत्रो विपत्तिको बेलामा सही सूचनै नभएको देखियो ।

*    पूर्वी पहाडको मेरुदण्डको रुपमा रहेको मेची राजमार्गको माइखोला खण्ड पहिरोले चुँडियो । यातायात अवरुद्ध भयो । इलाम, पाँचथर र ताप्लेजुङका नागरिकले दशैंको मुखमा ठूलो सास्ती भोगिरहेका छन् । सडक अवरुद्ध भएको २४ घण्टासम्म पनि झापाका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई सूचना पुगेकै थिएन । सडक अवरुद्ध भएको झण्डै ३६ घण्टामा इलामका प्रतिनिधिसभा सदस्य महेश बस्नेतले जानकारी तथा मर्मतका लागि फोन सम्पर्क गर्दा उनले ‘ए माइखोलामा पनि हो मैले त हेवाखोला भनेर मात्र सुनेको थिएँ’ भन्ने जवाफ दिएका थिए । 


*    जल तथा मौसम विभागले भारी वर्षा हुने र मुलुकका ५६ जिल्ला उच्च जोखिममा रहेको भन्दै सतर्कता अपनाउन सचेत गराइरहेको थियो । त्यसपछि रात्रिबस सञ्चालनमा रोक लगाइएको थियो । काठमाण्डौं र धादिङको सीमाना रहेको झ्याप्ले खोल्सामा रात्रि सवारी पहिरोमा थुनिएपछि तीन दर्जनको ज्यान गयो । बस सञ्चालनमा रोक लगाउँदा लगाउँदै कसरी ती सवारीसाधन चले ? घण्टौं पहिरोले थुनिँदा पनि सरकारले उद्धार गर्न नसक्दा धेरैले ज्यान गुमाए । 

*    यता प्रधानमन्त्री केपी शर्मा ओलीले समेत मेची राजमार्गको ताप्लेजुङ र पाँचथर सीमानामा रहेको हेवा खोलामा सानो फड्के लगाइएको र ह्युमपाइप राखेर यातायात चलाउने प्रयास भइरहेको कुरालाई बेलिब्रिज मर्मत गरी सडक सञ्चालनमा आएको भन्दै स्टाटस लेखे । चार पटक स्टाटस सच्याउँदा पनिउनले ठ्याक्कै भएको कुरा लेख्न सकिरहेका थिएनन् । 

यी प्रतिनिधि घटनाले राष्ट्रिय विपत्तिको बेला सरकारी निकायहरु बीचको समन्वय, तल्लो तहको संयन्त्रसँगको तालमेल पटकै नभएको स्पष्ट हुन्छ । अहिले तीन तहका सरकार छन् । यदी समन्वय हुने हो भने कम्तिमा पनि क्षति र घटनाको विवरण प्रधानमन्त्री, मन्त्री र सरकारको उच्च प्रशासनिक संयन्त्रसम्म समयमै पुग्न सक्थ्यो । सही सूचना लिन त नसकिरहेको सरकारले विपत्तिमा उद्धार र विपत्तिपछि राहत वितरणमा प्रभावकारी काम कसरी गर्न सक्ला ?

 
‘धेरै बिराली मुसा नमारी’ भने जसरी स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच तालमेल नहुँदा उद्धार त प्रभावकारी बन्न सकेन नै राहत विवरणमा प्रभावकारी बन्न सकेको छैन । यसरी दर्जनौं ठाउँमा सडक सञ्जाल टुटेको छ । ती सडक सञ्जाल खुलाउने विषयमासमेत सरकारहरुबीच समन्वय देखिएको छैन । 

अरु बेला जे जस्तो भएपनि विपत्तिमा सरकारले आफ्नो नागरिकको सुरक्षा गर्नु उसको दायित्व हो । तर, सरकार यस पटक आफ्नो दायित्वबाट नराम्रोसँग चुकेको छ । नागरिकले सरकारविहीनताको अनुभूति गर्नु परिरहेको छ । खास गरेर विपत्तिमा परेका पीडितले यति बेला स्थानीय सरकार खोजिरहेका छन् । केहीबाहेक स्थानीय सरकारका जनप्रतिनिधिहरु दशैंको फेस्टिभ मुडमा गइसकेका थिए । यसैले उनीहरुले आफ्नो पालिकाका बासिन्दालाई सचेत गराउने, जोखिम न्यूनीकरणका लागि सुरक्षित स्थानमा स्थानान्तरण गर्ने जस्ता काममा पटकै ध्यान दिएनन् ।
 
असोज १० देखि १२ गतेको भारी वर्षाले इलाममा खासै मानवीय क्षति भएन । एक जना बालकलाई खोलाले बगायो । तर भौतिक क्षति धेरै भएको छ । गाउँबाट सदरमुकाम जोड्ने सडक र पुलहरु बगाएका छन् । अहिले पनि गाउँ र सदमुकामको सडक सञ्जाल राम्ररी जोडिन सकेको छैन । 

इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने प्रमुख सडक मेची राजमार्ग पहिरोले तहसनहस पारेपछि तीन जिल्लाका नागरिकले ठूलो सास्ती खेप्नु परिरहेको छ । माइखोलाको इलाम खण्डमा पुल नजिकै सडक भासिएको झण्डै दुई दशक भइसकेको थियो । यस पटकको वर्षाका कारण बाटो पहिरो नगए पनि सडक दबिँदै गयो । यही क्रममा सडक डिभिजन इलामले सडक मर्मत गर्ने भन्दै दबिएको भागको तल्लो तहमा ठूलो मेशिन (डोजर) प्रयोग गरेपछि सडकमा पहिरो गयो । 

अहिले यातायात ठप्प छ । यात्रुहरु यो क्षेत्रमा एक किलोमिटरको दूरी हिडेर गाडी चढ्न बाध्य छन् । मर्मत सडक मर्मत गर्ने काम त भइरहेको छ तर यहाँबाट सवारी चल्न गाह्रो देखिन्छ । दुई दशकदेखि निरन्तर बगिरहेको सडक बीसौं हिँउद गए तर सडक कार्यालयले सामान्य मर्मत बाहेक तलैदेखि दीर्घकालीन काम गरेको थिएन । तर, लगातारको वर्षामा सडकको तल्लो भाग खोतलेर गल्ती गरिएको भन्दै धेरै इलामेहरुले सडक डिभिजनप्रति रोष प्रकट गरिरहेका छन् । 

मेची राजमार्गको यो खण्ड निरन्तर दबिँदै आएको थियो । सडक कार्यालयले यसको विकल्प खोज्नेतर्फ कहिल्यै तदारुकता देखाएन । सडक कार्यालयका कर्मचारीहरुले यो सडक खण्डलाई ‘सुनको अण्डा दिने’ सडकको रुपमा हेर्ने गरेको आरोप लाग्ने गरेको छ । अहिलेसम्म करोडौं खर्च भइरहेको सडक भासिन छाडेको छैन । हरेक वर्षामा बेपर्वाह मर्मतको नाममा खर्च हुने र त्यहाँको खर्चको सही अनुमान समेत लगाउन नसकिने भएकाले कार्यालयले यसलाई सुनको अण्डा दिने सडकको रुपमा लिएर अन्य विकल्पमा ध्यान नदिएको आरोप छ । 

संघीय सरकारले चालु आर्थिक वर्षमा मेची राजमार्गको समिल गोलाई हुँदै तिल्केनीसम्मको वैकल्पिक सडक निर्माणका लागि एक करोड बजेट विनियोजन गरे पनि कार्यान्वयनमा चासो देखाएको थिएन । विवादको बहानामा सोही दबिएको ठाउँलाई मर्मत गर्नमै सडक कार्यालयको ध्यान गइरह्यो । यसैले अहिलेको अवस्था आएको बताइन्छ । 

यसरी नै बिर्तामोड–दानाबारी, बेलासे हुँदै इलामको भञ्ज्याङ सडक निर्माण गएको असार मसान्तमै सम्पन्न हुनुपथ्र्यो । यो सडक बेलासे सडकको रुपमा चिनिन्छ । यो इलामका लागि फास्ट ट्रयाक पनि हो । मेची राजमार्गबाट ८८ किलोमिटरको यात्रामा बिर्तामोड पुगिन्छ भने बेलासे फास्ट ट्रयाकबाट ५२ किलोमिटरको दूरीमा बिर्तामोड पुग्न सकिन्थ्यो ।

समयको हिसाबले एक घण्टाभन्दा कम समयमा पुग्न सकिने सडकको काम अहिलेसम्म आधा पनि सकिएको छैन । यो सडक सम्पन्न भएको भए दशैंको मुखमा इलामबासीले नाकाबन्दीको अवस्था व्यहोर्नुपर्ने थिएन । तर सडक कार्यालयले काम सम्पन्न गराउनेतफै खासै ध्यान नदिएको स्थानीको आरोप छ । उल्टै समयावधि थपिदिएर ठेकेदारलाई सहज बनाउने काम गरेको बताइन्छ । अझै यो सडकको निर्माण कार्य सकिनेबारे कुनै टुङ्गो छैन । 

मेची राजमार्गको विकल्प भन्दै अहिले जनप्रतिनिधि, प्रशासन, प्रहरी र सडक कार्यालयको दैनिक दौडधुप देखिन्छ, तर अन्य सडक अवलोकनमा । बिसौं वर्षदेखि भासिँदै आएको मेची राजमार्गको विकल्प खोज्न अहिलेसम्म कसैलाई तातो लागेन । इलामेहरुको अहिले गम्भीर प्रश्न यही हो । दशैंको मुखैमा पेट्रोलियम पदार्थदेखि उपभोग्य सामग्रीको समेत अभाव हुन थालेको छ । विकल्पको खोजी भन्दै सामाजिक सञ्जालमा स्टन्ट गर्नेभन्दा पनि सडक सञ्जालबाट इलामलाई चाँडै जोड्न जरुरी भइसकेको छ ।

टिप्पणीहरू