पदबहालीलगत्तै प्रधानन्यायाधीश विदेश प्रस्थान

पदबहालीलगत्तै प्रधानन्यायाधीश विदेश प्रस्थान

नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत गएराति मलेसिया जानुभएको छ । उहाँ मलेसियन एअरलाइन्सको उडान नम्बर एमएच ११५ मा गएराति सवा १२ बजे काठमाडौंबाट क्वालालम्पुर प्रस्थान गर्नुभएको छ ।

प्रधानन्यायाधीश राउत क्वालालम्पुरमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरुको १९ औं सम्मेलनमा भाग लिन तीन सदस्यीय टोलीको नेतृत्व गर्दै त्यसतर्फ जानुभएको हो ।

आजदेखि चार दिनसम्म हुने सम्मेलनमा मुख्य रजिस्ट्रार देवेन्द्र ढकाल र रजिस्ट्रार विमल पौडेल पनि सहभागी हुने सर्वोच्च अदालतले जनाएको छ । प्रधानन्यायाधीशसँगै ढकाल र पौडेल पनि सोही उडानमा मलेसिया गएका हुन् ।

नवनियुक्त प्रधानन्यायाधीश राउतले गत आइतबार सर्वोच्च अदालतमा पद बहाली गर्नुभएको हो । त्यसअघि शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । सर्वोच्चलगायत सबै अदालतमा असोज १७ गते घटस्थापनादेखि आगामी पूर्णिमाको दिनसम्म बिदा छ ।

टिप्पणीहरू