संविधानको विशेष अधिकारबारे सांसदहरुबीच हानाहान
भारतको जम्मु कश्मिर विधानसभामा सांसदहरुबीच हात हालाहाल भएको छ । राज्यलाई विशेष अधिकार प्रदान गर्ने सम्बन्धी संविधानको धारा ३७० र ३५ ए पुनर्बहालीको विषयलाई लिएर भारतीय जनता पार्टी (बीजेपी) र नेसनल कन्फरेन्सका सांसदहरुबीच हानाहान भएको बताइन्छ ।
विधानसभाले हिजो पारित गरेको त्यससम्बन्धी एउटा प्रस्तावप्रति असहमत रहेका बीजेपी सांसदहरुले आज बैठक शुरु हुनासाथ विरोध जनाएका थिए । सोही क्रममा अवामी इत्तेहाद पार्टीका नेता तथा विधानसभा सदस्य शेख खुर्सिदले संविधानको धारा ३७० र ३५ ए पुनर्बहाली गरिनुपर्ने व्यहोरा लेखिएको ब्यानर संसदभित्रै प्रदर्शन गरेपछि बीजेपी सांसदहरुले ब्यानर च्यातिदिएका हुन् ।
त्यसपछि तनावपूर्ण भएको अवस्थामा दुबै पक्षबीच हात हालाहाल भएको हो । यसअघि सन् २०१९ मा जम्मु कश्मिरलाई विशेष राज्यको दर्जा दिने संविधानका दुई धारा ३७० र ३५ ए मोदी सरकारले खारेज गरेको थियो । त्यसपछि जम्मु कश्मिर र लद्दाख दुई राज्यमा विभाजित गरेर केन्द्र शासित बनाइएको थियो ।
टिप्पणीहरू