‘आठ लाख होइन, दोषीलाई कारबाही’ भन्नेहरुलाई प्रहरी अवरोध
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरी पहिरोमा ज्यान गुमाएका विद्यार्थीका परिवार तथा आफन्त आन्दोलित भएका छन् । गत असोज पहिलो साताको भीषण बाढी पहिरोमा छ जना बालकको ज्यान गएको उक्त घटनाको छानबिनको माग राख्दै उनीहरुले आज अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा धर्ना दिएका हुन् ।
धर्नामा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर धकेलाधकेल समेत भएको बताइन्छ । आफूहरु गेटभित्र पस्न खोजेपछि प्रहरीले लछारपछार गरेको पीडितहरुले बताएका छन् । एन्फाले सिस्नेरीस्थित वत्सला माविमा ४० जना बालकलाई आवासीय फुटबल प्रशिक्षणमा राखेको बखत उक्त दुर्घटना भएको थियो ।
गत असोज १० देखि १२ गतेको अविरल वर्षाले सिस्नेरीस्थित एन्फा एकेडेमीमा तालिममा रहेका ती आधा दर्जन बालक पहिरोमा पुरिएका थिए । कुलेखानी बाँध फुट्नसक्ने भन्दै त्यहाँबाट केही बालक सुरक्षित स्थानतर्फ जाने क्रममा उक्त दुःखद घटना भएको बताइन्छ ।
हेटौँडाका अनुपम घलान, बाराको निजगढका विकल रेग्मी, सिस्नेरीका दिवस बानियाँ, काठमाडौंका प्रियान्स आचार्य, सर्लाहीका आदित्य बलमपाकी र साइमन योञ्जनको मृत्यु भएको थियो । एन्फाले मृतकका परिवारलाई आठ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । तर, आफन्त भने आर्थिक सहायताभन्दा पनि घटनाको यथार्थ बाहिर ल्याएर दोषीलाई कारबाही गर्नुपर्ने मागमा अडिग छन् ।
टिप्पणीहरू