सचिवकै गाडी समात्नु परेपछि

सचिवकै गाडी समात्नु परेपछि

– यदुनाथ बञ्जारा

गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले आफ्नो जिल्ला तनहुँँमा मगाएको गाडी ट्राफिक होल्डिङमा परेको छ । २४ गते आइतबार उनले अफिसमा भएको बिएए ०५३० नम्बरको कारमा लिएर जान लागेको चालक प्रेमप्रसाद भण्डारीले बताएका थिए । चालकको साथमा सवारी पास नभएका कारण गगनगौंडा ट्राफिकले नियन्त्रणमा लिएर होल्ड गरायो । एक घण्टापछि मोबाइलमा फोटो मगाएर ट्राफिकलाई देखाएपछि गाडी छाडियो । यसरी मगाएको पास सक्कली हो कि नक्कली भन्ने शंका छ ।

सक्कली पास थियो भने गाडीमै राखिन्थ्यो र चेकिङमा तत्कालै देखाइन्थ्यो तर पछि मोबाइलमा मगाइयो त्यो पनि बिदाको दिन । मुख्यमन्त्री कार्यालयका सचिव केशवराज ढकालको हस्ताक्षर र चलानी नम्बर सक्कली हो या होइन त्यो खोजीको विषय हो । सार्वजनिक बिदाको दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सचिवका नाममा दुई वटा गाडीको पास दिनुको अर्थ बुझिनसक्नु छ ।

बि ए ए ०५२८ नम्बरको टाटा स्टोर्मी गाडी लिएर घर बसेका पाण्डेले बिदाको दिन अफिसको कार किन र कसका लागि मगाएका हुन् भन्ने खुल्न सकेको छैन । मुख्यमन्त्री कार्यालयले २०८१ चैत २२ गतेको मितिमा चैत्र मसान्तसम्मका लागि सवारी पास बनाइदिएको छ । उक्त पासमा सार्वजनिक बिदाको दिन कार्यालय आउन भन्ने प्रयोजन खुलाइएको छ । बिदाको दिन पोखराबाट तनहुँँ जाने काम थियो भने सो कुरा किन खुलाइएन ? एक जना सचिवले दुई वटा गाडी कसरी प्रयोग गर्छन् त्यो पनि शंकाको घेरामा छ ।

कसका लागि यो कार मगाउनुभयो भन्ने प्रश्नमा पाण्डेले अनभिज्ञता जनाए । नियमन गर्ने निकायका जिम्मेवार ब्यक्तिबाटै सरकारी श्रोत साधनको दुरूपयोग गरिन्छ भने तल्लो तहका कर्मचारीलाई कसले नियमन गर्ने ?

सचिवले बोलाएको भन्दै हुइँकिएका चालक ट्राफिक प्रहरीले ठाउँ ठाउँमा सोधपुछ गर्न थालेपछि टेन्सन भयो भन्दै हलेदीबाटै पोखरा फर्किएका थिए ।

 

टिप्पणीहरू