उपचुनावमा काँग्रेसलाई घाटा, एमाले र माओवादी फाइदामा
स्थानीय तह उपनिर्वाचनको मत गणना उत्तरार्द्धतिर पुगेको छ । उपचुनाव भएका ४१ मध्ये अधिकांश स्थानको परिणाम सार्वजनिक हुँदा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवार अधिकांश स्थानमा विजयी भएका छन् ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदमा चुनाव भएको थियो । जसमध्ये यसअघि जितेका वडा सुरक्षित गर्न असफल भएको काँग्रेसले पालिकातर्फ भने गुमाएको छ । माओवादी केन्द्र र एमालेले भने वडाको जित यथावत राख्दै पालिका थपेका छन् ।
रिक्त ४४ पदमा उपचुनाव हुँदा दुई जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेस र एक वडाध्यक्षमा माओवादी केन्द्र निर्विरोध भएका थिए । बाँकी ४१ मध्ये २४ स्थानमा गत निर्वाचनमा कांग्रेसले जितेको थियो । त्यसमध्ये उसले हालसम्म १६ वडामा मात्र जित हात पारेको छ ।
कांग्रेसले यसअघि जितेका ९ वटा वडा यथावत राख्दै ८ वटा वडा गुमाएर ७ वटा थपेको हो । पालिकातर्फ दुई गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्ष र नगरपालिका उपमेयर काँग्रेसको हातबाट माओवादी र एमालेले खोसेका छन् ।
यसअघिको सिट संख्या जोगाएको एमालेले २ वटा वडा यथावत राखी ६ वटा गुमाउँदै ३ वटा थपेको छ । दैलेखको महाबु गाउँपालिका अध्यक्ष र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पनि उसले हात पारेको छ । ०७९ को निर्वाचनमा यी दुबै पालिकामा काँग्रेसले जितेको थियो ।
माओवादी केन्द्रले भने यसअघि जितेको संख्या सुरक्षित गर्दै केही सिट थपेको छ । माओवादीले जितेका ६ वटा वडा र गाउँपालिका उपाध्यक्ष २ मा उपनिर्वाचन भएको थियो । जसमा जितेका ५ वटा वडा गुमाएको उसले कांग्रेसबाट ३ र एमालेका २ वटा वडा खोसेर सिट संख्या बराबर गरेको हो ।
माओवादीले आधार इलाका मानिने रोल्पा, रुकुम र जाजरकोटका केही वडा गुमाउँदा कांग्रेसको गढ मानिएको मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष हात पारेको छ । त्यस्तै, जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर पनि कांग्रेसबाट खोसेको छ । यस हिसाबले माओवादीलाई उपनिर्वाचनले घाटाभन्दा फाइदा नै देखिएको छ ।
अब वडातर्फ उदयपुरको बेलका नगरपालिका-९ को नतिजा आउन बाँकी छ । त्यस्तै, कीर्तिपुर नगरपालिकाको मेयर, रूकुम पूर्वको पुथा उत्तरगंगा, दोलखाको गौरीशंकर र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि भएको निर्वाचनको परिणाम पनि आउन बाँकी छ ।
टिप्पणीहरू