प्रदेश सरकारको नेतृत्व गरेको जनमतलाई मधेशमै थोरै मत
मधेसका चार जिल्लाका सात वटा वडामा भएको उपनिर्वाचनमा जनमत पार्टीको उपस्थिति शून्य देखिएको छ । नेपाली काँग्रेसले दुई वटा वडामा जितेको छ भने नेकपा (एमाले) र माओवादी केन्द्रले १–१ वटा वडा हात पारेका छन्।
कांग्रेसले रौतहटको ईशनाथ नगरपालिका–७ र राजपुर नगरपालिका–६ मा वडाध्यक्ष जितेको छ । ईशनाथ नगरपालिका–७ मा कांग्रेसी उम्मेदवार शेख अब्दुल खलिकले ६२७ मत प्राप्त गरेका हुन् भने उनका निकटम प्रतिस्पर्धी एमाले उम्मेदवार शेख अनवारले ५७५ मत प्राप्त गरेका छन् ।
त्यहाँ जनमत पार्टीका उम्मेदवार शेख जमिरुल हकले १३५ मत पाएका छन् भने माओवादी केन्द्रका उम्मेदवार शेख अमिरुलले २५ मतमा चित्त बुझाउनुपरेको छ ।
रौतहटकै राजपुर नगरपालिका–६ मा पनि काँग्रेसका उम्मेदवार समसे आलमले ७४४ मत प्राप्त गरेर वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका जिकरुलाहले ४६३ मत ल्याएका छन् ।
एमाले उम्मेदवार मोहम्मद नसिम अख्तरले ४३१ मत र जनमत पार्टीका क्यामुदिन धुनिया चार मतमा सीमित भएका हुन् । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा एमाले उम्मेदवार सकिवुल खाँ ६३१ मतसहित विजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका आइतीकुमार आदवले ५३४ मत प्राप्त गरेकी छन् ।
कांग्रेस उम्मेदवार मोहम्मत जनिफ खाँको २८४ ल्याएको उक्त वडामा जनमत पार्टीले उम्मेदवार नै उठाएको थिएन । सप्तरीमा डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार धिरेन्द्रकुमार साह ५६२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार भूलियादेवी थरुनीले ५८७ मत प्राप्त गरिन् ।
एमाले उम्मेदवार भगवती शाहले २६५ मत प्राप्त गरिन् भने जनमत पार्टीका उम्मेदवार शैलेन्द्रकुमार साह पाँचौ स्थानमा पुगे । सप्तरीकै डाक्नेश्वरी–४ मा जनता समाजवादी पार्टीका उम्मेदवार देवेन्द्रप्रसाद यादवले ३७२ मतसहित वडाध्यक्षमा निर्वाचित भएका छन् भने यो वडापालिकामा जनमत पार्टीले आफ्नो उम्मेदवार नै उठाएको थिएन ।
धनुषाको धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्रका शुनिल कापट केवरले ६८४ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । जनमत पार्टीका उम्मेदवार कुशेश्वर मण्डलले केवल दुई मत पाएको बताइन्छ ।
२०७९ को आमनिर्वाचनबाट मधेसमा जनमत पार्टी चौथो ठूलो दल बनेको थियो । १३ जना प्रदेश सभा सांसद रहेको उक्त पार्टीको संघमा छ जना सांसद छन् । मधेस प्रदेश सरकारको नेतृत्व पनि जनमत पार्टीले नै गरेको छ ।
टिप्पणीहरू