सभामुखले राजीनामा नदिए संसद बैठक अवरुद्ध पार्ने चेतावनी

सभामुखले राजीनामा नदिए संसद बैठक अवरुद्ध पार्ने चेतावनी
सुन्नुहोस्

जनमत पार्टीले सभामुख देवराज घिमिरेको राजीनामा माग गरेको छ । पार्टीले कारवाही गरेको व्यक्तिलाई सभामुख घिमिरेले आफ्नो नातेदार भएकै कारण गैरसंवैधानिक तरिकाले रक्षा गरिरहेको आरोप लगाउँदै जनमतले नैतिकता देखाउन आग्रह गरेको छ । 

पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले जारी गरेको विज्ञप्तिमा सभामुख घिमिरेले चरम नश्लवादी र रंगभेदी व्यवहार गरेको आरोप लगाएको छ । अविलम्ब राजीनामा माग गर्दै भनिएको छ, ‘कोही प्रतिनिधिसभा सदस्य सभामुखको नातेदार र समुदायको मान्छे पर्यो भन्दैमा र सभामुखको (पूर्व) पार्टी नेकपा (एमाले) मा जाने वचनबद्धता गर्यो भन्दैमा जनमत पार्टीको केन्द्रीय समितिले सम्पूर्ण प्रक्रिया पुर्याई कारबाही सदर गरिसकेको सदस्यलाई यसरी गैर संवैधानिक कदमद्वारा रक्षा गर्ने सभामुखले अविलम्ब राजीनामा दिनुपर्दछ ।’

सभामुख घिमिरेले क्षेत्राधिकारभन्दा बाहिर गएर लोकतन्त्रमाथि नै आँच आउने अपराधिक कार्य गरेको पनि जनमत पार्टीको दावी छ । अगाडि भनिएको छ, ‘यदि सभामुखलाई आफ्नो अधिकार क्षेत्रबाहिर गएर स्वेच्छाचारिता गर्न दिइयो भने एउटा नजिर कायम हुन्छ र यो लोकतन्त्रका लागि ठूलो खतरा सावित हुनेछ ।’

जनमत पार्टीले सभामुख घिमिरेबाट संसदमा समेत मधेश केन्द्रित सांसदहरुमाथि विभेदपूर्ण व्यवहार भएको दावी गर्दै सच्चिनको लागि आग्रह गरेको छ । अन्यथा, संसद अवरुद्ध गर्ने उसको चेतावनी छ । 

स्मरण रहोस्, पार्टीको हितविपरित कार्य गरेको र अनुशासन उल्लंघन गरेको भन्दै जनमत पार्टीले सांसद गोमा लाभ सापकोटालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । सो विषयबारे सूचना टाँस गर्न जनमत पार्टीले सभामुख घिमिरेलाई चार पटक पत्र लेखिसकेको छ ।

टिप्पणीहरू