आइपुग्यो चिनियाँ उपमन्त्री नेतृत्वको टोली
चिनियाँ कम्युनिष्ट पार्टीको हाइनान प्रान्तीय युनाइटेड फ्रन्ट वर्क विभागका उपमन्त्री वाङ यु चङ नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौं आएको छ । एअर चाइनाको उडानमा बिहान ११ बजे काठमाडौं आइपुग्ने भनिएको टोली चाइना साउदर्नको उडान नम्बरु सीजेड ६०६७ मा पौने ११ बजे ग्वाङ्झौ हुँदै यता आइपुगेको बताइन्छ ।
उपमन्त्री वाङ यु चङ उक्त प्रान्तीय सरकारको धार्मिक मामिला ब्युरोका निर्देशक हुनुहुन्छ । प्रतिनिधिमण्डलमा कुआन क्वाङसङ, चौ चिआङ, लि सिन, सिङ चङमिङ छन् । चिनियाँ प्रतिनिधिमण्डललाई नागपोखरीस्थित होटल मेरियटमा बस्ने प्रबन्ध मिलाइएको बुझिएको छ ।
भोलि राजधानीमा नानहाई बुद्धिज्म राउण्डटेबल हुँदैछ । सोही कार्यक्रममा सहभागी हुन आएको प्रतिनिधिमण्डलको आइतबार स्वदेश फर्कने भ्रमण तालिका छ । राउण्डटेबलमा विश्वका धेरै वटा मुलुकका प्रतिनिधिहरु सहभागी हुँदैछन् ।
सोही कार्यक्रममा चीनको क्वाङतोङ प्रान्तीय जातीय तथा धार्मिक मामिला आयोगका उपनिर्देशक चङ सिआओहुई नेतृत्वको प्रतिनिधिमण्डल पनि सहभागी हुने आयोजकले बताएको छ ।
टिप्पणीहरू