प्रधानमन्त्रीले हस्तक्षेप नभएको बताए पनि कर्मचारीहरुको नाराबाजी

प्रधानमन्त्रीले हस्तक्षेप नभएको बताए पनि कर्मचारीहरुको नाराबाजी

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा सरकारले कुनै हस्तक्षेप नगरेको स्पष्ट पार्नुभएको छ । त्रिभुवन विश्वविद्यालयको साधारण सभा तथा नीति अधिवेशनलाई सम्बोधन गर्दै उहाँले त्रिवि नियुक्तिमा आफ्नोतर्फबाट कुनै हस्तक्षेप नरहेको दावी गर्नुभएको छ ।

विश्वविद्यालयको कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले डिन नियुक्तको प्रसंग निकाल्दै भन्नुभयो, ‘के भएर डिन नियुक्तिमा विलम्ब भयो ? नियुक्ति साँच्चिकै मेरिटोक्रेसीबाट हुनुपर्छ । एउटा समिति बनाएर मात्र मेरिटोक्रेसी हुँदैन । कुलपतिले हस्तक्षेप गर्यो भनिन्छ । प्रधानमन्त्रीलाई गाली नगरी हुँदैन ? तर हस्तक्षेप हुँदैन । संस्थाले निर्णय गर्छ नि !’

विश्वविद्यालयको नीति अधिवेशनबाट ११ बुँदे प्रस्ताव पास भएको छ । नीतिबारे थप छलफल गर्न आगामी पुस ७ गते अर्काे बैठक बोलाइएको छ । 

प्रधानमन्त्री ओली सभाबाट निस्किँदा विश्वविद्यालयकै कर्मचारीहरुले नाराबाजी गरेका थिए । विभिन्न सेवा सुविधाको मागसहित बिहानैदेखि सभास्थल परिसरमा बसेका कर्मचारीले प्रधानमन्त्री ओली निस्कने मौका पारेर चर्का नाराबाजी गरेका हुन् ।

टिप्पणीहरू