त्रिविको जग्गा हड्प्नेलाई कारवाही, सम्पत्ति खोजविन जारी रहने

त्रिविको जग्गा हड्प्नेलाई कारवाही, सम्पत्ति खोजविन जारी रहने

त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजविन आयोगले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको छ । हिजो साँझ बालुवाटार पुगेर आयोगको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएका हुन् । 

पूर्वसचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा गत जेठ १८ गते सरकारले त्रिविको विभिन्न ठाउँमा रहेका जग्गा र सम्पति पत्ता लगाउन खोजविन आयोग बनाएको थियो । आयोग गठन भएको केही समयपछि त्रिताल विरामी परेका कारण महेन्द्रकुमार थापालाई संयोजक तोकेर काम अघि बढाईएको थियो । 

थापा संयोजक तथा जानकीबल्लभ अधिकारी र प्रेम चापागाईँ सदस्य रहेको उक्त समितिले करिब ६ महिला लगाएर जग्गा तथा सम्पतिबारे विस्तृत प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा काठमाडौँ उपत्यकामा रहेका त्रिविका २१ आंगिक क्याम्पसको वास्तविक जग्गा र सम्पति, त्यसको दुरुपयोग तथा अतिक्रमणलगायतको बारेमा विस्तृत अध्ययन विवरण समावेश गरिएको आयोगले जनाएको छ । 

प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री ओलीले त्रिविको जग्गा तथा सम्पति हिनामिना गर्ने जोकोहीलाई कारवाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने छ', उनले भने, 'त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन् ।’

साथै, आयोगले अध्ययन गर्न नभ्याएका क्षेत्रमाथि पनि थप खोजविन गरिने प्रधानमन्त्री ओलीले बताए । ‘आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने छ’, उनले भने, ‘आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिनेछ । हात हालेपछि यसलाई टुंगोमा पुर्याएरै छाडिने छ ।’

टिप्पणीहरू