रविको सांसद पद निलम्बन गर्ने तयारी

रविको सांसद पद निलम्बन गर्ने तयारी फाइल फाेटाे

रास्वपा सभापतिसँगै सांसद एवम् संसदीय दलका नेतासमेत रहेका रवि लामिछानेविरुद्ध तीन आरोपमा मुद्दा दर्ता भएपछि उनको पदको हैसियतबारे अनेक टिप्पणी हुन थालेको छ । 

उनको हकमा प्रथमतः सम्पति शुद्धीकरण निवारण ऐन, ०६४ (संशोधनसहित) आकर्षित हुने देखिन्छ । ऐनको दफा (२७) मा भनिएको छ, ‘प्रचलित कानूनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ ।’

अर्थात, रविविरुद्ध सम्पति शुद्धीकरणको मुद्दा दर्ता भएसँगै उनी स्वतः निलम्बनमा परेका छन् । उनीविरुद्ध प्रतिनिधि सभा सञ्चालन नियमावली २०७९ पनि आकर्षित हुने देखिन्छ । नियमावलीको नियम (२४८) उपनियम (३) मा भनिएको छ, ‘प्रचलित कानुनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा, अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा, त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा, त्यस्तो थुनामा नबसी फरार रहेको भएमा, निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ ।’

स्वतः निलम्बनमा परेका रविको सांसद पदको हैसियत भने अदालतको आदेशपछि तय हुन्छ । रवि अहिले सांसदबाट निलम्बनमा परे पनि पद गइनसकेको संसद सचिवालयका प्रवक्ता एकराम गिरी बताउँछन् । उनका अनुसार कास्कीको जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकीलको कार्यालयले रविविरुद्ध मुद्दा दर्ता गरिएको औपचारिक जानकारी दिने बित्तिकै निलम्बनको सूचना टाँस गरिनेछ । ‘एक महिनाअघि उहाँ (रवि)माथि अनुसन्धान हुँदैछ भन्ने व्यहोराको पत्र आएको थियो’, उनले जनआस्थासँगको कुराकानीमा भने, ‘अब मुद्दा दर्ता गरिएको औपचारिक जानकारीसहितको पत्र सभामुखज्यूलाई आयो भने उहाँमाथि कुन कुन कानुन आकर्षित हुन्छ, अध्ययन गरेर सूचना टाँस गछौँ ।’

पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा लामिछानेसहित ६३ प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको छ । उक्त सहकारीका तत्कालीन अध्यक्ष जिबी राईसहित १९ जनाविरुद्ध अस्ति (शुक्रबार) र लामिछानेसहित ४४ जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो । 

सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धीकरणको कसुरमा मुद्दा दर्ता गरिएका रविविरुद्ध २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ मागदावी गरिएको छ । त्यस्तै, सहकारी ठगीमा चारदेखि छ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत कैद र सजाय तथा सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद र सजाय पनि मागदावी गरिएको छ ।

टिप्पणीहरू