ढोडको कुन्युमा लुकेका छोराको ‘बकपत्र’

ढोडको कुन्युमा लुकेका छोराको ‘बकपत्र’
सुन्नुहोस्

काभ्रेपलाञ्चोक जिल्लाका पछिल्ला केही घटनामा मानवता मेटाउँदै चिनजान र परिवारका सदस्यबाट पाशविक र जघन्य हत्याका घटना हुन थालेको पुष्टि भएको छ । अझै केही घटनामा संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन । त्यस्तै जघन्य घटनामा संलग्न भएका एक पुरुषले यसरी बाबु मारेको बकपत्र गरेका छन् । बाबु मारेर ढोंडको कुन्युमा लुकी १४ रात बिताएका छोराले बाबु मार्नुको कारणबारे यसरी खुलाए । उनी प्रहरीको कस्टडीमा छन् । ४५ वर्षीय रामलाल श्रेष्ठले समाजका विभिन्न मनोवृत्तिमा आफू रुमल्लिँदा भएको घटनाको बयान गरेका हुन् । 

नमोबुद्ध नगरपालिका–नम्बर ७ टापुमा छ घर । हरेक दिनझैं त्यसदिन पनि मादक पदार्थ सेवन गरेको थिएँ । घरमा बुबा र म मात्रै थियौं । चाडपर्वको पूर्वसन्ध्या थियो । मेरो नाममा जग्गा पास गरिदिनु भन्दै बुबालाई कचकच गरिरहेको थिएँ । घरमा दुई भाइ थिएनन् । श्रीमती र छोराछोरी बनेपामा भएकाले परिवारसँग भएको महसुस भएको थिएन । त्यही घटनाले हरेक दिन तनाव दिइरहन्थ्यो । मानसिक रूपमा विक्षिप्त थिएँ । त्यही विक्षिप्तपनले मापसे गर्ने गरेको थिएँ । त्यही मापसेले मलाई हत्यारा बनायो । त्यस दिन दशाले घेरिरहेको थियो । बाबुको पनि काल आएको रहेछ । शुरुमा अंश मागें । दुई भाइ पनि फर्किएपछि अंश दिने बताउनुभएको थियो । मलाई तत्कालै अंश लिएर आफूखुशी गर्नु पर्ने थियो । बुबाले किन ढिला आएको, रक्सी नखानु, घरपरिवार पनि हेर्नु भनेर सम्झाउँदै हुनुहुन्थ्यो । रिस उठिरहेको थियो । नजिकै खुर्पा रहेछ । उचालेर गएँ । बुबा डराउनुभएन । सायदै मैले हान्दैन भन्ने लाग्यो होला । एक पटक हानेँ । ऐया मात्रै भन्नुभयो । फेरि हानें । अंश दिने कुरा नै गर्नुभएन । सम्पत्ति नपाउने भएपछि किन बाँकी राख्नु भन्ने लाग्यो । फेरि अर्काे पटक बजारें । बुबालाई केही भएन । तत्कालै खाटमा उठाएर ल्याएँ । अझै केही भएन । सँगै रहेको गलले टाउकोमा बजारें । ऐया ऐया भन्दाभन्दै रगत बग्न थाल्यो । घरको मजेरीमा छाडेर भागें । 

भागेर घर नजिकैको जंगलमा पुगेको थिएँ । फेरि फर्किएँ । बुबा ढलिरहेकै अवस्थामा हुनुहुन्थ्यो । तत्कालै बोकेर खाटमा राखिदिएँ । सिरक ओढाइदिएँ । बोल्न नसक्ने दिदी सुतिरहेकी थिइन् । उनले त्यो घटना देखेकी थिइनन् । मैले सुताइदिएर हिँडेपछि चाल पाइन् क्यारे ! कराउन सक्दिनथिन् । म अनि नर्फकने गरी भागेँ । गाउँभरि हल्ला फैलियो । दिदीले छिमेकीलाई खबर गरेपछि दाजुहरू आए । प्रहरी पनि आयो । शव पोस्टमार्टका लागि धुलिखेल लगेछन् । केही दिनपछि अन्त्येष्टि पनि भएछ । उता, मलाई खपिनसक्नुको औडाहा भएको थियो । मैले बाबुलाई किन मारेँ ? जसले मलाई पटक–पटक प्रहरीको पञ्जाबाट फुत्काएर ल्यायो । आफूले कुटाइ खाँदा पनि सन्तानलाई जेल राख्नुहुँदैन भन्यो । उसैलाई मार्न म पटक–पटक किन तम्सिएँ ? भोलिपल्टदेखि डर लाग्न थाल्यो । केही दिनदेखि पानीबाहेक केही खाएको थिइनँ । एक दिन सुनसान भएकाले नजिकैको गोठमा पुगें । त्यहाँ राखेको लाइटर र मकै ल्याई पोलेर खाएँ । १४ दिनसम्म त्यसरी नै लुकें । वडाध्यक्ष, स्थानीय र प्रहरीको सहयोगमा मलाई १४ दिनपछि पक्राउ गरियो । 

अघिल्लो महिना पैसाका लागि हनीट्र्यापमा पारेर सम्बन्धमा राखेका व्यक्तिलाई मारेको अभियोगमा सिन्धुपाल्चोक जिल्ला घर भएकी २१ वर्षीया युवतीसहित अन्य संलग्नलाई पक्राउ गरिएको रहेछ । ६ महिनाअघि महाभारत गाँउपालिका घर भएका दम्पतीको हत्यामा संलग्न सिन्धुपाल्चोककै एक युवा पनि समातिए । पाँचखालमा आगो लगाएर हत्या गरिएका व्यक्तिको पहिचान हुन सकेको छैन । नमोबुद्ध, रोशी तथा जिल्लाका विभिन्न स्थानमा भएका घटनामा केही पक्राउ परेका छन् । केहीको पहिचान नै हुन सकेको छैन । समाजमा सम्पत्ति र सम्बन्धका लागि अभिभावक र आफन्तको हत्या हुन थालेको छ ।   

 – मोतीराम तिमल्सिना

टिप्पणीहरू