रवि दुबैतिर निलम्बित, रास्वपाका नेताहरु कानुन हेर्दै
सांसद पदबाट निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने राज्य व्यवस्था समितिबाट निकालिएका छन् ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दायर भएसँगै संसद सचिवालयले हिजो उनलाई प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेको थियो । यता निलम्बनमा परेका लामिछाने संसदीय समितिबाट स्वत: हटेका हुन् ।
आज सिंहदरबारमा बसेको समितिको बैठकमा यसबारे जानकारी दिँदै सभापति रामहरि खतिवडाले निलम्बनको पत्र पढेर सुनाए । चितवन-२ का प्रत्यक्ष निर्वाचित सांसद लामिछाने उक्त समितिको सदस्य थिए ।
यता, सभापति लामिछानेको पद निलम्बनविरुद्ध अदालत जाने तरखरमा रहेको रास्वपाका नेताहरु कानुनी छलफलमा जुटेका छन् । सांसद तथा नेतृ सोविता गौतम नेतृत्वको पार्टीको कानुन समितिले यसबारे अध्ययन गरिरहेको बताइएको छ ।
हिजो प्रमुख सचेतक सन्तोष परियारलगायतले सभामुख देवराज घिमिरेलाई भटेर निलम्बनको सूचना ननिकाल्न आग्रह गरेका थिए ।
टिप्पणीहरू