चार दिनपछि रविको पालो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको बयान कास्की जिल्ला अदालतमा शुरु भएको छ । कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरिएको थियो ।
न्यायाधीश नितेज राईको एकल इजलासमा आज दिउँसोदेखि उनको बयान शुरु भएको हो । पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणसहितको उक्त मुद्दामा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछाने, जिबी राई, छविलाल जोशीसहित कुल ६३ जनालाई प्रतिवादी बनाइएको छ ।
प्रतिवादीहरुबाट डेढ अर्बबढी रुपैयाँ बिगो मागदाबी गरिएकोमा लामिछानेविरुद्ध झण्डै २८ करोड बिगो कायम गरिएको छ । सोमबारदेखि प्रतिवादीहरुको बयान सुरु भएकोमा छविलाल जोशी र लिला पछाईको बयान सकिएपछि बल्ल आज लामिछानेको पालो आएको हो ।
लामिछानेसहित जोशीलगायतविरुद्ध रुपन्देही, चितवन, काठमाडौँ र पर्सामा पनि मुद्दा दर्ताको तयारी भइरहेको प्रहरी स्रोतले बताएको छ ।
टिप्पणीहरू