युवा विदेशमा, गाउँमा बस्नेहरु पीडामा
आफ्नो थातथलो छाड्ने समस्याले पछिल्लो समय ग्रामीण भेगमा ठूलो समस्या देखिएको छ । बसाइँ सरेर नजिकैको बजार, त्यसपछि सदरमुकाम र काठमाडौं उपत्यका छिर्ने क्रम केही वर्षयता बढेको छ । रोजगारीको खोजीमा भारत पस्ने र विदेश पलायन हुनेहरु बढ्दा गाउँघर रित्तिँदै गएको छ ।
पछिल्लो समय गाउँमा विकास पुगेको छ, तर त्यसको प्रयोग गर्न मानिस छैनन् । युवापुस्ता गाउँघरमा बस्नै चाहँदैनन् । उनीहरु विदेश केन्द्रित छन् । अघिल्लो महिना ८४ हजार बढीले देश छाडेको बताइन्छ ।
यसले गाउँ मात्र होइन्, शहर पनि खाली हुने अवस्था देखाएको छ । कमाउनका लागि शहर छिरेकाहरु अब विदेश पलायन हुँदैछन् । गाउँमा पुरुष तथा युवा भेट्नै महाभारत पर्न थालेको छ । श्रीमान् कमाउनका लागि विदेश पसेपछि श्रीमती बालबालिका लिएर शहर र सदरमुकाम छिरेका छन् । गाउँघरमा वृद्धवृद्धा र महिला मात्रै देखिन्छन् । कुनै बेला बाह्रैमास हरियाली हुने खेतबारी बाँझो हुन थालेको छ । गाउँ उजाड बन्दै गएको छ । सबैभन्दा पीडादायी क्षण मर्दा र पर्दा सहयोग गर्ने मान्छे नभेटिँदा हुने गरेको छ ।
बिरामी पर्दा अस्पताल लैजान र मान्छे मर्दा शव उठाउन गाउँमा सहयोग माग्दै हिँड्नुपर्ने बाध्यता छ । गाउँघरको अवस्था बोलेको एउटा तस्बिर हालै सामाजिक सञ्जालमा भाइरल बनेको छ । गाउँमा पुरुष नभएपछि महिलाले खेपिरहेको दुःखको वर्णन उक्त तस्बिरले गरेको छ । चार जना महिलाले बाँसको स्ट्रेचर काँधमा बोकेर एक वृद्धालाई अस्पताल लैजाँदै गरेको तस्बिरले धेरैलाई भावुक बनाएको हुनुपर्छ ।
मुगुको खत्याड गाउँपालिका–३, माथिखर्ककी ७० वर्षीया पञ्चा टमटा बिरामी भइन् । अस्पताल लैजान कुनै पुरुष नभएपछि महिलाहरुले घण्टौं लामो बाटो हिँडेर वृद्धालाई अस्पताल पुर्याएका हुन् । गाउँको अवस्था यति दयनीय भएको छ कि कोही बितेमा मलामी जाने मान्छे पनि पाइँदैनन् । केही समयअघि एउटा तस्बिरले सामाजिक सञ्जालमा त्यस्तै चर्चा पाएको थियो ।
गत भदौमा सिन्धुलीको तीनपाटन गाउँपालिका–७ बस्ने कृष्णमाया पहाडीको शव उठाउनै समस्या भयो । गाउँमा हारगुहार गर्दापनि शव उठाउन कोही भेटिएनन् । एक महिला र तीन पुरुष जम्मा भएपछि बल्ल शव घाट लगियो । यी केही उदाहरण मात्र हुन् । गाउँघरमा बस्नेका लागि यो नियति नै भइसकेको छ । चाडबाडबाहेक अन्य समय गाउँघर शून्य हुन्छ । कोही नबस्दा गाउँका घरहरु जीर्ण बन्दै गएका छन् ।
किन रित्तिँदै छ गाउँ ?
कुनै समय गाउँघर निकै रमाइलो हुन्थ्यो । आफ्नै उत्पादनमा गाउँबासीहरु रमाएका थिए । परिवारसँगै बस्थें । तर, ‘समयसँगै परिवर्तन आवश्यक हुन्छ’ भनेझैँ सेवासुविधा र रोजगारीको खोजीमा गाउँबासीहरु सदरमुकाम र शहर छिर्न थाले । उनीहरुले श्रीमती र सन्तानलाई पनि शहर नै ल्याए । यतै पढाएर हुर्काउन थाले ।
अहिले ती पढेलेखेका सन्तान गाउँ होइन्, विदेशतिर लागे । जसका कारण वृद्धवृद्धा मात्रै गाउँमा बाँकी रहे । बुढा भएका बुवाआमालाई सञ्चो–विसञ्चो सोधिदिने कोही भेटिँदैनन् । यता, गाउँमै बस्ने रहर भएकाहरुलाई पनि टिक्नसक्ने अवस्था छैन । रोजगारीको अवसर नहुँदा अधिकांश भारत पस्न बाध्य छन् । परिवार पाल्नैका लागि बाहिर नगई सुःखै छैन् । गाउँमै केही गर्छु भन्नेलाई सरकारले सहजीकरण गरिदिन सकेको छैन ।
नेपालको संविधान, २०७२ जारी भएपछि देश संघीयतामा गएको छ । ‘गाउँगाउँमा सिंहदरबार’ पुगेको छ । गाउँमा पनि क्रमिक रुपमा विकास हुँदैछ । विद्यालय, अस्पताल, बाटोघाटो, गाडी, बत्ती, इन्टरनेटको सुविधाले गाउँलाई पनि छोएको छ । तैपनि शहर छिरेकाहरुलाई आकर्षित गर्न सकेको छैन । सरकारले बेलैमा पहलकदमी भूमिका नखेलेमा यसले भयावह रुप लिने जानकारहरु बताउँछन् ।
गाउँ रित्तिएपछि बाँदर आतंक
गाउँमा मान्छे नभएपछि बाँदरको राज चलेको छ । गाउँघरमा अचेल मान्छेभन्दा धेरै बाँदर भेटिन्छन् । एक प्रकारले त्यहाँ बाँदर आतंक छ । ढोकामा ताला झुण्ड्याइएको घरलाई बाँदरले आफ्नो बासस्थान बनाएका छन् । वृद्धवृद्धालाई बाँदरले सबैभन्दा धेरै दुःख दिने गरेका छन् । युवापुस्ता विदेश र बालबालिका बजार छिर्दा अन्यत्र झैँ बागलुङका गाउँहरु पनि चकमन्न बनेका छन् ।
जिल्लाको गलकोट नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी गाउँपालिका लगभग खाली हुने अवस्थामा पुगिसकेको छ । त्यहाँका खेतबारी झाडीमा परिणत हुँदै गएका छन् । मान्छे नभएपछि त्यहाँ बाँदरको आतंक बढेको हो । बाँदर घरभित्रै छिर्ने गरेको छ । केही वर्षभित्र गाउँघर जंगली जनावरको बासस्थान बन्ने जोखिम बढेको छ ।
गाउँ फर्किनेलाई ‘उपहार’
गाउँको जनसंख्या निरन्तर ओरालो लागेपछि स्थानीय पालिकाहरुले विभिन्न ‘अफर’ ल्याएका छन् । पालिकाको बजेटमै समेटेर ‘उपहार’ कार्यक्रम सञ्चालन गरिएको छ । पर्वतको महाशिला गाउँपालिकाले एक लाख अनुदान र छ महिनालाई पुग्ने खाद्यान्न खर्च प्रदान गर्ने जनाएको छ । घर बनाउन एक लाख र परिवारको एक सदस्य बराबर मासिक दुई हजार रुपैयाँ खाद्यान्न खर्च दिइने गाउँपालिका अध्यक्ष ईश्वरीप्रसाद भुसाल बताउँछन् ।
सो कार्यक्रम लागू गरेपछि सात जना फर्किएको उनले जानकारी दिए । ‘पालिकाको जनसंख्या घट्दो क्रममा छ । बसाइँ सरेर जानेको संख्या बढ्दो छ । रोजगारीका लागि गएकाहरु पनि फर्किएका छैनन् । गाउँपालिकाले बाहिर गएकालाई फर्काउन सो योजना ल्याएको हो । गाउँमै आएर कृषि गर्न चाहनेका लागि पनि हामीले विभिन्न अफर ल्याएका छौं’,उनले भने ।
तनहुँको ऋषिङ्ग गाउँपालिकाले बसाइँ सरेर गएकालाई पुनः गाउँ फर्काउन एक लाख अनुदान र निःशुल्क बत्ती–पानीको सुविधा दिने रणनीति बनाएको छ । त्यसैगरी, गाउँ फर्किनेलाई लक्षित गरेर व्यवसायिक कृषि कार्यक्रम पनि ल्याइएको छ । यता, मकवानपुरको राक्सिराङ गाउँपालिकाले पालिकाभित्र अन्यत्रबाट बसाइँसरी आउनेलाई घर उपहार दिने घोषणा गरेको छ ।
दुर्गमबाट बसाइँ सरेर सुगम भेगतर्फ जाने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले गाउँपालिकाले बसाइँ सरी आउनेलाई घर उपहार दिने योजना बनाएको हो । तर, अहिलेसम्म कोही पनि नआएको बताउँछन्, गाउँपालिका अध्यक्ष राजकुमार मल्ल । गाउँपालिकामा एक जनाको पनि निवेदन नपरेको उनको भनाइ छ ।
ओखलढुंगाको सुनकोशी गाउँपालिकामा बसाइँसरी आउनेलाई ३० हजार रुपैयाँ बराबरको दुहुनो गाई दिने भनिएको छ ।
बसाइँसराइ रोकेर युवाहरुलाई स्वःरोजगार बनाउन गाउँपालिकाले उक्त निर्णय गरेको हो । खोटाङको साकेला गाउँपालिकाले बसाइँ सरेर आउने परिवारलाई नगदसहित सम्मान गर्ने घोषणा गरेको छ । जनसंख्या ऋणात्मक हुँदै गएपछि गाउँपालिकाले बसाइँ सरेर आउने परिवारलाई पाँच हजार रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको हो । अन्य गाउँपालिकाले पनि बसाइँसराइ रोक्न र बसाइँसराइ गरेर गएकालाई फर्काउन विभिन्न अफर ल्याएको छ । तैपनि स्थानीय पालिकाहरु आफ्नो अभियानमा सफल हुन सकेका छैनन् ।
कहाँ चुक्यो सरकार ?
गाउँ रित्तिनु निकै गम्भीर विषय हो । गाउँघर खाली हुन थालेपछि ‘गाउँ फर्क अभियान’ चलाउनुपर्ने चर्चा व्यापक हुन थालेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले केही समयअघि एउटा कार्यक्रममा ‘गाउँ फर्क अभियान’ चलाउनुपर्ने धारणा राखेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले पनि गाउँ रित्तिएकोमा चिन्ता व्यक्ति गरेका थिए ।
गाउँमै रोजगारीको अवसर सिर्जना नभएसम्म सरकारले जुनसुकै अभियान चलाएपनि प्रभावकारी नहुने संघीयता विज्ञहरु बताउँछन् । सेवासुविधाले मात्र गाउँ फर्किने अवस्था नरहेको उनीहरुको जिकिर छ । यता, सामाजिक अभियन्ता प्रेमबहादुर थापाले गाउँलाई पहिलेझैं चहलपहल बनाउन सरकारले रोजगारीको बन्दोबस्त गर्नुपर्ने बताए ।
कृषि, उद्योग व्यवसायमा सरकारले प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । गाउँमै केही गर्छु भन्नेलाई सरकारले ब्याजबिना कर्जा दिनुपर्नेमा उनको जोड छ ।
टिप्पणीहरू