मुस्लिम परिवारकी यी युवती मर्माहत

मुस्लिम परिवारकी यी युवती मर्माहत
सुन्नुहोस्

उनी भन्छिन्, ‘म २३ वर्षकी भएँ ।’ तर उनका आमाबाबु र मामा भन्दैछन्, ‘हाम्री छोरी, भान्छी भर्खर १७ वर्षकी भइन् ।’ कसको कुरा मान्ने ? प्रहरी पनि दोधारमा छ । केटीको रुपरंग– ज्यान र अनुहार हेर्दा २० कटेकी देखिन्छिन् । तर उनका आमाबाबु र मामाले १७ वर्षको मात्रै भएकी कागज प्रहरीकोमा पेश गरेको बुझिन्छ ।

हेर्दा युवतीझैं देखिने उनको नागरिकता बनेको छैन, प्रहरीमा बुझाइएको कागज जन्मदर्ताको प्रमाण पनि होइन । भारतीय पञ्चायतबाट १७ वर्ष जनाउँदै बनाइएको सिफारिस हो त्यो । ‘त्यो पनि केस भएपछि भर्खर बनाएर ल्याएको’, जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका सेल प्रमुख प्रहरी निरीक्षक निलम तामाङ भन्छिन्, ‘मेरो अनुमानमा पनि उनको उमेर १७ वर्षभन्दा माथि नै हुनुपर्छ ।’

ती युवतीको घर भारत । बाबु भारतीय, आमा नेपाली । मुस्लिम परिवारकी उनी यतै नेपालमा मामाघर रौतहटको सिमरा, भवानीपुरमा बसेर हुर्किइन् । अहिलेसम्म उनले एक कक्षा पनि नपढेकी बताइन्छ । भनौं, पढाउँदै पढाइएन । मामाघरको घरधन्दा, वस्तुभाउलाई घाँसपात र खेतबारीको काम गरेर हुर्केको उनले बताइन् । 

मामाले भनेजस्तो नहुँदा हातखुट्टा बाँधेर, बेल्ट फुकालेर पिट्ने गरेको पनि उनले सुनाइन् । मामाले आफूलाई बेच्न लागेको चाल पाएपछि भागेर चितवन आएको उनी बताउँछिन् । मामाले बेच्न लागेको कुरा कुनै पुरुषसित पैसा लिएर भान्जीलाई बिहे गरी भिडाउन खोजेको भन्ने पनि हुनसक्छ । जेहोस्, उनी भन्छिन्, ‘मामाको मोबाइल कुराकानीबाट त्यस्तो थाहा पाएपछि उतिबेलै झुण्डिएर मरुँ कि भन्ने पनि लागेको थियो तर नमरी भागेर आएँ ।’ मामाघरमा धेरै पीडा र टोकेसो सहेर बसेको उनी बताउँछिन् ।

भरतपुरमा काम र कोठा खोज्दै हिँड्दा बसेनी आइपुगेकी हुन् । बसेनीमा एउटा घरमा बस्दै गर्दा त्यही घरको युवकसँग माया बसेपछि दुवैजना सँगै बस्न थाले । युवतीलाई सहाराको खाँचो थियो, युवकलाई पनि त्यस्तै । पहिल्यै डिभोर्स भएर बसिरहेका युवकलाई युवतीले सहर्ष अँगालिन् र दुवैजना श्रीमान्–श्रीमतीसरह बस्न थालेको १० महिनाजति भएको थियो । यत्तिकैमा रौतहटकै एकजना सिरकडस्ना बनाउँदै हिँड्नेले बसेनीमा उनलाई देखेपछि मामाघरमा खबर पुग्यो । त्यसको केही दिनमै मामा पुलिस लिएर आए । 

रातिको यस्तै १० बजेको थियो । ती दम्पती खाना खाँदै थिए । उतिबेलै उनीहरुलाई भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय लगिएकोमा रातारात युवतीलाई माइती नेपालमा पुर्याएर युवकलाई हिरासतमै कोचियो । खातुन थरकी युवती अहिले पनि माइती नेपालकै आवधिक गृहमा छिन् । उनका आफन्त र परिवारजनले करणीकै आरोप लगाउन खोजेका भएपनि प्रहरीले अभद्रमा व्यवहारमा युवकलाई २०–२५ दिन थुनेर छाडेको छ । उनी हिजो पनि जिल्ला प्रहरी कार्यालयमा तारेख धाइरहेका थिए ।

युवतीका परिवारजन कुनै पनि हालतमा उनलाई यता छोड्ने पक्षमा छँदैछैन । तर युवती आफ्नो उमेर पुगिसकेको भन्दै श्रीमान भइसकेका युवकलाई नछोड्ने अडानमा छिन् । ‘ममीले जिन्दा चाहे मुर्दा लिएर जान्छु भनेको छ’, उनले भनिन्, ‘तर म शंकरसँगै बस्छु, मलाई बहुत माया गर्नुहुन्छ ।’ ममीबुबासँग जाँदा आफूलाई खतरा हुने बताउँदै उनी भन्छिन्, ‘मामाघरमा लगेर बेसरी कुट्छन्, मारेर भागी भनिदिन पनि सक्छन् ।’ 

त्यसो त मुस्लिम समुदाय जात र धर्मको मामिलामा अलि कट्टर नै हुन्छन् भन्ने आरोप छ । यता, शंकर पनि भाग्यले जुरेकी युवतीलाई गुमाउन चाहन्नन् । शंकर पेशाले सवारी चालक हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतो नाबालिगको हकमा पहिलो अधिकार आमाबाबुकै हुने बताउँछन् । त्यसो त आफ्नो जिन्दगीको निर्णय लिने अधिकार उमेर पुगेका केटाकेटी सबैलाई हुन्छ । उनी नाबालिग हुन् या वयस्क भन्ने प्रमाणित आधार नदेखिएको अवस्थामा सत्यतथ्य जाँच्ने काम प्रहरीकै हो । डीएसपी महतो भन्छन्, ‘केस आइसकेको हुँदा डकुमेन्टको भ्यालिडिटी गर्ने काम गरौंला ।’ युवतीले चाहेमा उनको उमेरको भ्यालिडिटी गर्नसकिने कुरामा पनि प्रहरी सकारात्मक देखिन्छ । ‘आवश्यक परे त्यो पनि गरौंला’, निरीक्षक निलमले भनिन् । मान्छेको दाँत र हड्डीको परीक्षणबाट उमेर पत्ता लगाइन्छ । 

युवतीले मामाघरमा असुरक्षा र चितवनका युवाले आफूलाई राम्रै माया गरेकाले श्रीमान बनिसकेका शंकरकै जिम्मा लगाउँदा आफ्नो कल्याण हुने बताउँछिन् । तर केटाकेटीको उमेर २० वर्ष नभई आफूहरुले त्यसो गर्न नमिल्ने भन्दै यसमा एकपटक प्रहरीले मेडिकल विधि अपनाएर उनको उमेर परीक्षण गर्दा उपयुक्त हुने माइती नेपाल चितवनका प्रमुख ईश्वर गिरीको भनाई छ।

टिप्पणीहरू