हत्कडीमा विभेदबारे प्रहरीको दाबी : भिआईपी अभियुक्त शालिन हुन्छन्

कानुनको नजरमा सबै बराबर हुन्छन् । कानुन उल्लंघन गर्ने हरेकलाई गरिने व्यवहार समान हुनुपर्छ । व्यक्ति कुन ओहोदाको हो ? कानुनले हेर्दैन र हेर्न पनि मिल्दैन । तर, यहाँ विशिष्ट र सामान्य व्यक्तिलाई कानुनका पालकहरुले गर्ने व्यवहार बेग्लै छ । सामान्य व्यक्तिलाई पक्राउ गरेपछि हत्कडी लगाउने प्रहरीले विशिष्टलाई छुट दिने गरेको छ । विगतमा पनि कैयौंपटक देखिएको त्यस्तो विभेद पुनः दोहोरिएको छ ।
आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी आशिका तामाङ्गलाई माघ २ गते प्रहरीले अभद्र व्यवहारको कसूरमा पक्राउ गर्यो । पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेकी आशिकालाई प्रहरीले कार्यालय प्रवेशमा रोक लगाएको थियो । त्यसपछि उनले आक्रोशित हुँदै प्रहरीलाई ‘दलाल’ भनेपछि घटनाले नयाँ मोड लिएको हो ।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले उनीविरुद्ध अभद्र व्यवहारमा अनुसन्धान गरेर प्रतिवेदन बुझायो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पक्राउ पूर्जी लिएर पक्राउ गरिएको आशिकालाई केही दिनअघि १० हजार रुपैयाँ धरौटीमा रिहा गरियो । तर, जिल्ला प्रहरी परिसर, भक्तपुरमा पनि उनीविरुद्ध अपराधिक उपद्रवको जाहेरी परेकाले गौशाला प्रहरीले उनलाई काठमाडौंबाट सोझै त्यता पठायो ।
भक्तपुर लैजाने क्रममा खिचिएको एउटा तस्बिर हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ । जउनलाई थुनुवाको पोशाकमा हत्कडी लगाएको देखिन्छ । यता पाँच जिल्लामा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा झेलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायतलाई त्यसबाट उन्मुक्ति दिएपछि विरोध भएको हो ।
कास्की, काठमाडौं र रुपन्देहीमा धरौटी बुझाएर छुटेका उनलाई प्रहरीले आफैं अदालत उपस्थित हुने सुविधा पनि दिएको छ । ८४ दिन प्रहरी हिरासतको बसाइपछि कास्की जिल्ला अदालतले ६५ लाख रुपैैयाँ धरौटीमा छोडेको रविले आफैं अदालत उपस्थित हुने प्रतिबद्धता जनाएपछि प्रहरीले परिवारको जिम्मा लगाएको थियो । अदालत उपस्थित गराउँदा पनि उनी आफ्नो पार्टीझैँ स्वतन्त्र देखिन्थे ।
यी पछिल्ला केही उदाहरण मात्र हुन् । कानुन पालकबाट भएका विभेदका घटनाहरु धेरै छन् । यसअघि भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केही भिआईपीलाई हत्कडी नलगाइएपछि चर्को विरोध भएको थियो । भिआईपी होस् या सर्वसाधारण अपराधको आरोप लागेपछि ऊ अभियुक्त हुन्छ । उ दोषी छ कि निर्दोष ? त्यो छुट्याउने काम अदालतको हो ।
तर, आफ्नो हिरासतमा हुञ्जेल प्रहरीले सबैलाई एकैखालको व्यवहार गर्नुपर्छ । विडम्बना ! प्रहरीले हत्कडी लगाउने विषयमा विभेद गरिरहेको देखिन्छ । त्यति मात्र नभएर विशिष्टहरुलाई हिरासतमा हुँदा पनि विशेष सुविधा दिइन्छ । जसका कारण प्रहरी संगठन बेलाबखत विवादमा तानिएको छ । प्रहरीमाथि द्वैध चरित्र देखाएको आरोप लागिरहन्छ । आरोपितलाई गरिने बेग्लाबेग्लै व्यवहारले विधिको शासन हुन्छ ? भन्दै यतिबेला धेरैले विरोध जनाएका हुन् ।
सामाजिक सञ्जालमा चर्को विरोध
विशिष्ट श्रेणीका आरोपितलाई आफ्नो मर्जी चल्न दिने र सर्वसाधारणलाई हत्कडी लगाउने प्रवृत्तिको चर्को आलोचना भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता जोनराज मगरले करोडौं गरिबको रकम ठगेको आरोप लागेकालाई हत्कडी नलगाएको र सामान्य अभद्र व्यवहारको मुद्दा लागेकालाई हत्कडी लगाएको भन्दै आपत्ति जनाएका छन् ।
लेखेका छन्,‘करोडौं गरिबको रकम ठगेको आरोप लागेको रवि लामिछानेलाई हत्कडी लगाइँदैन् । एउटा अदालत छोडेर अर्को अदालतमा मुद्दा हुँदाहुँदै पनि पक्राउ गरेर प्रहरीले उपस्थित गराउने बेलामा आफैं उपस्थित हुने सुविधा दिइन्छ । तर, सामान्य अभद्र व्यवहारको मुद्दामा आशिका तामाङ्गलाई हत्कडी लगाइन्छ । एउटाले छोड्न आदेश दिनेबित्तिकै पुनः पक्राउ गरिन्छ । भलै आशिका तामाङ्गले गर्ने क्रियाकलाप गलत छ तर हत्कडी लगाउनु गलत नै हो ।’
‘कायर सरकार ! बलात्कारी, हत्यारा, दलाल ठग, तस्करलाई उन्मुक्ति देऊ अनि जनताको दुःख पीडाको बारेमा आवाज उठाउने नागरिकलाई हत्कडी लगाएर जेल हाल’,ह्यारी पाण्डेले भनेका छन् । नेपाली आवाजले सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ्गको प्रसंग निकालेका छन् । उनी लेख्छन्,‘आईजीपीको जिब्रो थुत्नुपर्छ भन्ने मन्त्री पृथ्वीसुब्बा गुरुङ्गलाई चाहिँ कुन कानुन लाग्छ नि ?’ बोल्दाखेरि भएको त्रुटिकै आधारमा हत्कडी लगाएर मानसिक तनाव दिनु ठीक नभएको ध्रुवविक्रम मल्लको ठहर छ ।
‘भुइँ मान्छेको पिछडिएको आवाज बोल्ने आशिका तामाङ्गको बोलीमा केही प्रक्रिया मिलाएर भन्न जानिनन् होला त्यो पाटो छ तर भ्रष्टाचार गरेको त थिएन्, समाजमा कुनै अपराध गरेको थिएन्, देश नै बेच्ने अभियान त गरेको थिएन, तिमीहरुको भ्रष्टाचार बेतिथिको विरुद्ध अन्यायको आवाज उठाएका मात्र हुन्’,उनी भन्छन्, ‘आफ्नो विचारमा बोल्न स्वतन्त्र गरिएको छ भन्ने गणतन्त्र सरकार किन विचारको आवाजमाथि प्रतिबन्ध लगाएर घाँटी निमोठ्दै छों । समाज परिवर्तनको जनचेतना हुटहुटी बोकेको एक बच्चाको आमा चेलीलाई हत्कडीमा बाँधेर मानसिक तनाव दिँदैमा समस्या समाधान हुँदैन ।’
त्यसैगरी, अर्का एक सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन्, ‘प्रहरीले हाइप्रोफाइल आरोपितलाई भिआईपीकै सुविधा दिइरहेको छ । उनीहरुले भिआईपी र आरोपितबीच फरक छुट्याउनै नसकेजस्तो लाग्यो ।’
‘कण्डिसन’ हेरेर हुन्छ : प्रहरी
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्य अवस्था हेरेर हत्कडी लगाइने बताउँछन् । प्रहरीमाथि हमला गर्नसक्ने अभियुक्तलाई मात्र हत्कडी लगाउने गरिएको उनको दाबी छ । प्रहरीको नजरमा सबै आरोपित समान भएको उल्लेख गर्दै उनले हत्कडीमा विभेद नगरिएको बताए ।
‘प्रहरीले कण्डिसन हेरेर हत्कडी लगाउने हो । कोही एकदमै एग्रेसिभ किसिमका हुन्छन् । उनीहरुले प्रहरीमाथि नै आक्रमण गर्न सक्छन् भन्ने सम्भावनालाई दृष्टिगत गर्दै सुरक्षाको निम्ति हत्कडी लगाउँछौं । प्रहरीले सामान्यलाई हत्कडी लगाउँछ र विशिष्टलाई छुट दिन्छ भन्नु गलत हो । हामीबाट त्यस्तो व्यवहार हुँदैन’,उनले भने ।
टिप्पणीहरू