कहाँ–कहाँ छिर्दैन बालेनको डोजर ?

कहाँ–कहाँ छिर्दैन बालेनको डोजर ?
सुन्नुहोस्

‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने उखान काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको गतिविधिसँग मेल खान थालेको छ । साना टहरामा डोजर चलाएर के–के न गरें भन्ठान्ने उनले मापदण्डविपरीत बनेका पहुँचवाला व्यवसायीको संरचनालाई त्यत्तिकै छोडिदिएका छन् । उनका फौजको आँखा ठुल्ठूला ग्रुपले ठड्याएका अवैध संरचनातिर जान सकेको छैन । महानगरले नक्सा पास विपरीत र सरकारी जग्गा कब्जा गरेर निर्मित सम्पूर्ण संरचना भत्काउने दाबी गर्दै आएको छ । तर, व्यवहारमा भने त्यस्तो देखिँदैन । मेयर बनेपछि एकाध भवनमा डोजर चलाएर चर्चामा आएका बालेनले राजधानीका महँगा ठाउँमा ‘एम्पायर’ खडा गरेकालाई कानुनको दायरामा ल्याउन सकेका छैनन् । सडक किनारमा सानो छाप्रो हालेर बसेका निमुखाहरूलाई लखेट्ने उनले ठूलालाई केही गर्न नसक्नुले नै उनको नियत छर्लंग भएको प्रष्ट हुन्छ।

कानुन सबैलाई बराबर हुन्छ । सरकारी जग्गा मिच्ने एउटाको घर भत्काइँदा अर्कालाई छोडिदिनु न्यायसंगत हुन्छ ? त्यस्ता व्यक्तिले नियमकानुनको कुरा गर्न सुहाउँछ ? धोबीखोला करिडोरस्थित गोल्यान टावर अवैधानिक छ । उक्त टावरको नक्सापास भएकै छैन । स्रोतका अनुसार टावरले सरकारी जग्गा पनि मिचेको छ । कमलपोखरीस्थित रसियन कल्चर सेन्टर, नेपालस्थित जर्मनी राजदूतावास, अमेरिकी राजदूतावास र प्रहरी वृत्त बौद्धले सडक मिचेको आरोप छ । 

बौद्ध प्रहरीको भवन सडक बाहिरसम्म निस्किएको छ । तर, बालेनको टोली त्यता पुगेको छैन । ‘बालेनको फौज सानाको पछाडि हात धोएर लाग्छ । सानाले कतै छिरिक्क गर्‍यो भने डोजर लिएर पुगिहाल्छ तर ठूलाले सरकारी जग्गा मिचेर ठूल्ठूला बिल्डिङ्ग बनाउँदा बालेनको फौजले केही गर्दै,’ स्रोतले भन्यो । एक जना पूर्व नगर प्रहरीका अनुसार महानगर प्रहरी प्रमुख कामुएसएसपी राजुनाथ पाण्डेको टोलीले कमिशन नपाएकाको मात्र संरचना भत्काउने गर्दछ । जनआस्थासँग उनले भने, ‘महानगर प्रहरी प्रमुखजस्तो घुसखोर कोही छैन । पछाडिको घरसँग सेटिङ्ग मिलाउँछ अनि अगाडिको भत्काउँछ । जसले पैसा दिँदैन, उसको मात्र भत्किने हो ।’ अघिल्लो मेयर विद्यासुन्दर शाक्यले प्रहरी वृत्त, कमलपोखरीको भवन पूरै भत्काएका थिए । 

ल्होत्से सहकारीको लुटमा दर्शक 

काठमाडौंको गोंगबुस्थित ल्होत्से सहकारीले सरकारी जग्गा कौडीको भाउमा लिएर करोडौं कमाइरहेको छ । तर, नगरपिता बालेन ल्होत्सेको हकमा पनि आँखा चिम्लिएर बसेका छन् । वि.सं. २०५४ सालमा सरकारले नयाँ बसपार्क बनाउनका निम्ति त्यहाँको १६१ रोपनी जग्गा अधिग्रहण ग¥यो र जापान सरकारले अत्याधुनिक बसपार्क निर्माण ग¥यो । तत्कालीन मेयर केशव स्थापितले बसपार्क सञ्चालनको जिम्मा ल्होत्से बहुउद्देश्यीय सहकारी संस्थालाई दिए । ४५ वर्षका लागि उक्त बसपार्क ल्होत्सेलाई दिने सम्झौता छ । ६५ रोपनीमा बसपार्क छ भने अन्य जग्गामा ल्होत्सेले मनपरी भवन निर्माण गरेको छ । 

जम्मै भवन भाडामा छ । बसपार्क र बाँकी जग्गा प्रयोग गरेबापत ल्होत्सेले महानगरलाई वार्षिक ९० लाख रूपैयाँ तिरे पुग्छ । जबकि ल्होत्सेको वार्षिक आम्दानी दशौं करोड रूपैयाँ छ । त्यहाँ बनाइएको अधिकांश संरचना नियमसंगत छैन । तर, महानगरले त्यहाँ आफ्नो डोजर लैजान सकेको छैन । न सम्झौता तोडेर अर्को कम्पनीलाई दिन सकिएको छ । सरकारी जग्गामा ग्राण्डी अस्पतालको मालिकसमेत रहेका दीपक कुँवर नेतृत्वको कमाइ चलिरहँदा बालेन दर्शक भएर हेरिरहेका छन् । महानगर प्रहरीको टोलीले केही महिनाअघि त्यहाँ पुगेर अनधिकृत संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको थियो । तर, अहिलेसम्म पनि ती संरचना नहट्नुले ‘दालमा केही कालो’ भएको संकेत दिँदैछ । 

‘कूटनीतिक निकायसँग विभिन्न सम्बन्ध हुन्छ । त्यसैले त्यो हामीले चलाउन पाउँदैनौँ । तपाईंले भन्नुभएको अमेरिकी र जर्मन दूतावास, रसियन कल्चर सेन्टर हाम्रो क्षेत्राधिकारभित्र पर्दैन । 

महानगरका सहायक सूचना अधिकारी धु्रवकुमार काफ्लेले अवैधानिक संरचनाहरू ‘वान बाई वान’ भत्काइने बताए । महानगरको सार्वजनिक निर्माण विभागले नक्सा हेरिरहेको उनको भनाइ छ । उनका अनुसार कूटनीतिक भवन मापदण्डविपरीत भए पनि भत्काउने अधिकार महानगरसँग छैन ।‘कूटनीतिक निकायसँग विभिन्न सम्बन्ध हुन्छ । त्यसैले त्यो हामीले चलाउन पाउँदैनौँ । तपाईंले भन्नुभएको अमेरिकी र जर्मन दूतावास, रसियन कल्चर सेन्टर हाम्रो क्षेत्राधिकारभित्र पर्दैन । अर्कोतिर कतिपय भवन पुरानो मापदण्डअनुसार बनेको हुन्छ । अहिलेको मापदण्डसँग त्यो मेल खाँदैन । त्यसैले पनि त्यो विपरीत छ भन्ने धेरैलाई लाग्छ तर त्यसो होइन’, उनले भने । 

त्यसैगरी, उनले ल्होत्से खाली गराउन थालिसकेको दाबी गरे । सामान हटाउन निर्देशन दिएपछि व्यापारीहरूले अन्त सर्न केही समय मागेको उनको जिकिर छ । भन्छन्,‘पहिले उहाँहरूसँग सम्झौता गर्दा कस्तो थियो, हामीले त्यस्तै अवस्थामा फर्काउन निर्देशन दिइसकेका छौं । त्यसपछि केही व्यापारीले सामान खाली गरिसक्नुभयो । केहीले समय माग्नुभएको छ । मागेको समयमा छोड्नुभएन भने भत्काउँछौं ।’

टिप्पणीहरू