एमाले हाइकमाण्डमा ‘नाती जर्नेल’को प्रवेश

एमाले हाइकमाण्डमा ‘नाती जर्नेल’को प्रवेश

कम्युनिष्ट पार्टीमा बैठक र छलफल व्यवस्थित हुन्छ भनिन्छ । जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तमा चल्ने उनीहरूले खास नियम र विधि बनाएका हुन्छन् । पार्टी सदस्यहरूलाई कडा अनुशासनमा बाँधिएको हुन्छ । कम्युनिष्टहरूले यसलाई ‘फलामे अनुशासन’ भन्ने गरेका छन् ।

तर, नेपालका कम्युनिष्ट पार्टीको हकमा भने जनवादी केन्द्रीयताको सांगठनिक सिद्धान्त कागजमा मात्र सीमित हुँदैछ । साना पार्टीहरूको कुरा छोडौँ, आफूलाई कम्युनिष्ट आन्दोलनको मूल प्रवाह दाबी गर्ने नेकपा (एमाले) मा सांगठनिक अराजकताले सीमा नाघेको गुनासो सुनिन्छ । अध्यक्षले एउटा फरमान जारी गर्ने र अरुले ताली बजाउनेबाहेक दोहोरो बहससमेत हुन छोडेको भनिएको एमालेको हाइकमाण्ड (सचिवालय) बैठकमा कतिसम्म भद्रगोल हुन्छ भन्ने बुझ्न यौटै उदाहरण काफी छ । 

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको स्वकीय सचिव छन्, राजेश बज्राचार्य । सहयोगीका रूपमा ओलीलाई दबाइ–पानी खुवाउने जिम्मा उनको हुने नै भयो । पार्टीको बैठक बसेका बेला पनि उनी औषधि र पानी लिएर बैठक कक्षमा आउ–जाउ गरिरहेका हुन्छन्, यो स्वभाविक हो । तर, जब राजेशका तीन वर्षीय छोरा बैठक कक्षमा छिर्छन्, त्यसपछि देखिन्छ सत्ताको नेतृत्व गरिरहेको कम्युनिष्ट पार्टीको हाइकमाण्ड बैठकको असली रूप । 

जतिसुकै महत्वपूर्ण विषयमा छलफल चलेको भए पनि बैठक रोकेर नेताहरू बालकसँग जिस्किंदै खेल्न थाल्छन् । बैठकको अध्यक्षता गरिरहेका ओलीदेखि विष्णु रिमाल, विष्णु पौडेल, प्रदिप ज्ञवालीहरू फुच्चेलाई खुशी पार्न वरिपरि लाग्छन् । राम्रोसँग बोल्नसमेत नजान्ने उसले सबैलाई तँ संबोधन गर्दै, चिमोट्दै हिँडेको हुन्छ । ओली उसको कुरा सुनेर र काखमा खेलाएर ४५ मीनेटसम्म दङ्ग पर्नुहुन्छ । 

‘नाती जर्नेल’ का कारण बैठक अवरुद्ध भएको एक पटक मात्र होइन । ओलीलाई कतिबेर मन लाग्छ त्यतिबेलासम्म नातिसँग पुल्पुलिएर बसिदिंदा सचिवालयका धेरै बैठक घण्टौं रोकिएको अनुभव एक जना नेताले सुनाए । अध्यक्ष बच्चासँग भुलुञ्जेल अरु सबै चुप लागेर बस्दिनुपर्ने ? भन्ने प्रश्नमा उनको कटाक्षपूर्ण जवाफ छ – यस्तै हो, हाम्रो पार्टी । बोल्न मात्र पाइँदैन, गर्न जे पनि पाइन्छ । 

राजतन्त्रकालमा पुल्पुलिएर हुर्किएका युवराजहरूले दरबारका महत्वपूर्ण सभा–समारोहमा छिरेर जथाभावी गर्ने गरेको सुनिन्थ्यो । राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको कम्युनिष्ट पार्टीमा समेत त्यसैको झल्को आउनेगरी ‘युवराज’ का कारण बैठक अवरुद्ध हुनु आफैंमा नौलो र अचम्मको घटना हो ।
 

टिप्पणीहरू