सेनाले यसो गर्न किन नसक्ने ?

१) माओवादीले नेपाल सरकारको खर्चमा राजनीतिक पात्र, शहीद र युद्धमा मर्नेहरूको स्मारक – सालिक देशभरि खडा गरेको छ । नेताहरूको नाममा प्रतिष्ठान खडा गरेर हजारौंँ रोपनी जग्गा ओगटेको छ भने वार्षिक करोडौँ बजेट विनियोजन हुँदै छ । तर, सेनाले आफ्ना वीरगति प्राप्त ऐतिहासिक पात्रहरूको स्मारक तथा सालिक बनाउन किन कञ्जुस्याइँ गरेको?
२) पृथ्वीनारायण शाहको सालिक सेनाको ब्यारेकभित्र मात्र बनाउने होइन । उनी यो देशको निर्माता भएकाले सेनाले ब्यारेक बाहिरका जिल्ला, अञ्चल, क्षेत्रमा, सडक– पार्क सबै ठाउँमा स्थानीय सरकारसँग मिलेर सालिक निर्माण गर्नुपर्छ ।
३) पृथ्वीनारायण, राजाराम शाहका सेनापति काजी लखन थापा, पहिलो सेनापति भागीरथ पन्त, राजा प्रताप मल्लका सेनापति काजी भीम मल्ल, सरदार भक्ति थापा, कप्तान बलभद्र कुँवर, मूल काजी कालु पाँडेलगायत, प्रधानसेनापति शिव रामसिंह बस्न्यात, काजी विराज थापा मगरलगायतको स्मृति कार्यक्रम जंगी अड्डा वा स्थानीय तहका सेनाले आफ्नै खर्चबाट गर्नु अपरिहार्य छ । अहिले यो काम कुँवर, बस्न्यात, थापा, मगर, गुरुङ, पाण्डेलगायत परिवारले २ सय, ४ सय उठाएर पिपलको रूखमुनि, बरको बोटमुनि, पार्टी प्यालेसमा गरिरहेका छन् । बिचल्लीसँग मनाइने यस्ता स्मृति कार्यक्रम देख्दा के जंगी अड्डाको मन दुख्दैन ?
४) ऐतिहासिक र वीरगति प्राप्त सैनिकहरूको स्मृति कार्यक्रममा प्रधानसेनापति, अन्य जर्साब, कर्साबहरूलाई निम्ता दिएर बोलाउँदा ‘वंशको कार्यक्रम’ अनि ‘पारिवारिक कार्यक्रम’ भनी ओंठे जवाफ दिएको पटक–पटक सुनेको छु । हार्दिक निम्तो दिँदा आउँछु÷ आउँदिनसम्म भन्नुहुन्न । निम्तो दिएपछि सके आफू आउनुस् नसके प्रतिनिधि पठाउनुस् । त्यस्ता पात्रको कार्यक्रममा तपाईंहरू बहालवाला जान किन लाज मान्ने ?
५) शक्तिशाली जर्साबहरूले आयोजना गर्ने यस्तै प्रोग्राम अर्थात् पारिवारिक वा वंशको स्मृति कार्यक्रममा भने बहालवाला सेनापतिदेखि सबै जर्साब, सम्मान गारत बोकेर उपस्थित भाएको पटक–पटक देखिन्छ । शक्ति नहुने परिवारले आयोजना गरेका कार्यक्रमलाई भने बाटोमा फालेको फाटेको जुत्तालाई जस्तै व्यवहार गर्नु न्यायोचित हुन्छ?
६) सैनिक स्मृति दिवस मनाउन जंगी अड्डाले सभा हल, अर्थात् गण गुल्मका उपलब्ध हल, व्याख्यालय, अनि प्रितना–बाहिनीलगायतले चियापानीको व्यवस्थासमेत गर्दा केही बिग्रन्न । स्मृति कार्यक्रम गर्ने पात्रका परिवारलाई सहयोग दिनुपर्छ । अनि नेपाली सेनाले बिगुल र सम्मान गारत पनि दिनुपर्छ ।
७) सेनाका भूपू वा बहालवालाले निशान भगवती छोएर देशका लागि शपथ खाएका छौँ । त्यो शपथ हामी सेनाका लागि ‘गायत्री मन्त्र’ हो, नमरुञ्जेलसम्म । रिटायर्ड जर्साब, कर्साबले आफ्नो दर्जा छाडेर ‘कम्रेड’ भन्ने अनि कांग्रेस, माओवादी, एमालेलगायतले झण्डामुनि बसेर शपथ खाने । जंगी अड्डाले भूपूहरूलाई मनपरी छाड्नु भएन ।
८) अब शान्ति सेनाको पैसा काटेर सैनिक अस्पताल, स्कूल र अन्य कल्याणकारी कार्य गर्नै हुँदैन । नेपाल सरकारसँग मागौँ अब । नमागेरै सरकारले नदिएको हो । सैनिकको रगत–पसिनाले पाउने पैसा काट्नु पाप हो । अनि ललितपुरको पुल्चोकमा अफिस भएको र जंगी अड्डाले सपोर्ट गरेको राष्ट्रिय भूतपूर्व सैनिक संस्थाले कुनै काम गरेको छैन । कहीँ केही बोल्दैन । अब सेनालाई पर्दा सहयोग गर्ने भूपू सैनिक दस्ता तयार गर्नुपर्छ । सेनाबाट अवकाश हुँदा नै यो संस्थाको अनिवार्य सदस्य हुने व्यवस्था होस् र यसको नेतृत्व पालैपालो पूर्वप्रधानसेनापतिज्यूहरूबाटै होस् ।
ठूला फुली जर्साबहरूले राष्ट्रिय सुरक्षा, राष्ट्रिय स्वार्थलगायत विषयमा ठूला कुरा गरेको सुनिन्छ । तर, सिपाहीले आधा पेट हुने तलब–भत्ता पाउँदा र तिनकै पैसा काटिँदा कोही बोल्दैन, किन ? तपाईंहरूले काम गरेका र कमाण्ड गरेका फौजको मनोबल बढाउने कुरा लेख्नुस्– बोल्नुस् । तपाईं–हामी अर्बपति–करोडपति भयौँ । केही दुःख छैन । तर, हेर्नुस् सिपाही– हवल्दार पदिकको अवस्थाः तिनीहरू हजारौँपति पनि हुन नसक्दा रिटायर्ड भा’को भोलिपल्ट कि खाडी कि मलेसिया उडेको छ । हामीले नमाग्दा नै सरकारले तलब, भत्ताको सुविधा नथपेको कुरा पक्का हो ।
–सहायकरथी (अप्रा) डा. प्रेमसिंह बस्न्यात, बूढानीलकण्ठ– ८, काठमाडौँ ।
टिप्पणीहरू