राजमार्गका अस्पताल : अवस्था धराप, शुल्क ब्रम्हलुट

रौतहटको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पताल प्रालिका एक जना सञ्चालक पक्राउ परेका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पताल अनुगमनको क्रममा मापदण्ड विपरीत सञ्चालन भएको र दर्ता समेत नभएको पाइएपछि अस्पताल बन्द गर्ने पत्र थमाएपछि सञ्चालक पक्राउ परेका हुन् ।
मुख्यमन्त्री सिंहले सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्र अस्पताल सञ्चालन गर्नुपर्ने जनाउँदै पत्र थमाए पनि सञ्चालकले अस्पताल जबर्जस्ती अस्पताल खोलेपछि प्रहरीले पक्रेको बताइन्छ । सञ्चालक राजन साहलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले जानकारी दिए ।
अस्पताल नखोल्न पटकपटक सम्झाई बुझाई गर्दासमेत साहले अटेर गरेर खोलेपछि आज बिहान पक्रेर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको हो । स्थानीय ट्रमा हाइवे सेन्टर, सिभिल अस्पताल, चन्द्रपुर सामुदायिक अस्पताल, पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी अस्पताल, हिमालयन पोलिक्लिनिक प्रालि, चपुर अर्थोपेडिक एण्ड जनरल अस्पताल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र, एपोलो अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहले पत्र बुझाएका थिए । सिभिल तथा रिसर्च सेन्टरले सामान्य बिरामीलाई पनि अनावश्यक परीक्षण गराएर विभिन्न शीर्षकमा लुट्ने गरेको स्थानीयको गुनासो छ ।
मुख्यमन्त्री सिंहले अनुगमनको क्रममा गम्भीर त्रुटीहरु फेला परेको र अस्पतालले मापदण्ड पूरा नगरेको पाइएपछि तत्काल अस्पताल बन्द गर्न पत्राचार गरेको बताए । अस्पतालले आइसियु तथा अपरेसन कक्ष सञ्चालन गरेपनि त्यसको आधारभूत मापदण्ड कायम नभएको पाइएको थियो । बिना दर्ता, बिना मापदण्ड अस्पताल सञ्चालन गरिएकोमा तत्काल उपचाररत बिरामीलाई अन्य अस्पतालमा सारेर उक्त अस्पताल बन्द गर्न निर्देशन दिएका थिए । तर आज अस्पताल खोलेपछि प्रहरीले सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।
अस्पतालमा एकपटक उपचार गरेपछि बिरामीहरू फर्केर नजाने भएकाले अस्पतालले अनावश्यक महँगो शुल्क जोडेर लिने गरेको गुनासो व्याप्त भएपनि कारबाहीको लागि कुनै पनि निकायले चासो नदिएको भन्दै गुनासो बढेको थियो ।
शनिबार मुख्यमन्त्री सिंहलाई एक पीडितले अस्पतालको बिल देखाउँदै आफूमाथि अन्याय भएको गुनासो गरेका थिए । सिंहले सुविधा केही नभएको तर काठमाडौँको उच्च सुविधायुक्त अस्पतालको शुल्क लिएको भन्दै आश्चर्य व्यक्त गरेका थिए । बिलमा मापदण्ड विपरीत सञ्चालन गरिएको आइसियु बेडको प्रतिदिनको ४५ सय उल्लेख छ ।
सवारी दुर्घटनामा परेर उक्त अस्पतालमा पुगेका ती बिरामीको अपरेसन शुल्क ६५ हजार, एनेस्थेसिया शुल्क २० हजार, इमर्जेन्सी म्यानेजमेन्ट शुल्क २० हजार, स्टिलको ५५ हजार, अपरेसन थिएटर सामग्रीको शुल्क २० हजार, मोनिटर शुल्क नौ हजार, उपचारात्मक शल्यक्रिया शुल्क १० हजार, ड्रेसिङ शुल्क तीन हजार, अक्सिजन शुल्क छ हजार लिएको देखिन्छ । मनलाग्दी शीर्षकमा महँगो शुल्क लिएर बिरामीको आफन्तलाई दुई लाख ६५ हजार नौ सय रुपैयाँको बिल थमाइदिएपछि उनीहरु अन्योलमा परेका हुन् । मुख्यमन्त्री सिंहसँग बिरामीका आफन्तले गुनासो गर्दै आफूहरूलाई न्याय दिलाउन हारगुहार गरेका थिए । मुख्यमन्त्री सिंहले तत्काल अनावश्यक शुल्क कटाएर बिरामीलाई डिस्चार्ज गर्न अस्पताल सञ्चालक साहलाई निर्देशन दिए पनि उनी हिँडेपछि साहले बिरामी र आफन्तलाई थर्काएको बताइन्छ ।
अस्पतालले प्रहरी, एम्बुलेन्स चालक तथा ईरिक्साचालकसँग सेटिङ मिलाएर रौतहट आसपासका सडक दुर्घटनाका घाइतेहरूलाई अस्पतालमा ल्याउने र उपचारको नाममा मनलाग्दी शुल्क असुल्ने गरेको आरोप पनि लाग्दै आएको छ । दुर्घटनाको बिरामी ल्याइदिएबापत एम्बुलेन्स चालकलाई ३५ सय, इरिक्सा चालकलाई पाँच सय तथा प्रहरीलाई बिलको १० देखि २० प्रतिशतसम्म कमिसन दिने गरेको भुक्तभोगीहरु बताउँछन् ।
टिप्पणीहरू