चीनले बढायो रक्षा बजेट, आर्थिक वृद्धिदर ५ प्रतिशत

चीनले चालु आर्थिक वर्षको बजेटमा रक्षा खर्च बढाएको छ । यो वर्ष ७.२ प्रतिशतले वृद्धि गरेर रक्षा बजेटलाई दुई खर्ब ४९ अर्ब डलर पुर्याइएको घोषणा गरेको छ । चिनियाँ संसद राष्ट्रिय जनकँग्रेसको हिजोदेखि बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा प्रारम्भ भएको बैठकमा प्रस्तुत बजेटमा उक्त कुरा उल्लेख गरिएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
चीनको रक्षा बजेट अमेरिकापछिको दोस्रो ठूलो हो । अमेरिकाले यो वर्ष आठ खर्ब ५० अर्ब डलर घोषणा गरेको छ ।
चीनले चालु आर्थिक वर्ष ५ प्रतिशत हाराहारीको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । प्रधानमन्त्री लि छ्याङद्वारा प्रस्तुत गर्नुभएको सरकारको कार्य प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । चीनले वैदेशिक व्यापार र लगानीलाई यो वर्ष थप उचाई लैजाने बताएको छ ।
चीनले पछिल्ला दुई आर्थिक वर्षमा पनि पाँच प्रतिशतकै आर्थिक वृद्धिको लक्ष्य लिएर पूरा गरेको थियो । यता, अमेरिकाले चीनबाट आयात हुने वस्तुमा पहिले १० र अहिले १० गरेर २० प्रतिशत थप कर लगाएको छ । चीनले पनि अमेरिकाबाट आयात हुने कृषि तथा खाद्य उत्पादनमा १५ प्रतिशतसम्म कर लगाउने घोषणा गरिसकेको छ ।
टिप्पणीहरू