सभ्य रुपमा होली मनाउन सल्लाह
176 shares

‘होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाऔं । आत्मीय रुपमा नजिक भएका व्यक्ति वा आफन्तसँग होली खेलौं तर अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक, पैदल यात्री र बटुवालाई होली खेल्न कुनैपनि प्रकारको करकाप नगरौं'- भोलि र पर्सि मनाइने होली पर्वको पूर्वसन्ध्यामा आज जिल्ला प्रहरी कार्यालय चितवनले यस्तो सन्देश जारी गरेको छ ।
कसैको इच्छा विपरीत रंग नदल्न र लोला नहान्न प्रहरीले आग्रह गरेको छ । यसैगरी, मोबिल, मोसो, केमिकल र फोहर पानी फाल्ने जस्ता काम नगर्न पनि सचेत गराइएको छ ।
होली पर्वको नाममा मादक पदार्थको सेवन गरी उच्छृङ्खल क्रियाकलाप नगर्न अनुरोध गर्दै चितवन प्रहरी भन्छ, ‘असभ्य र अश्लील किसिमका होलीका गीतहरु नबजाऔं र साँझ अबेलासम्म होली नखेलौं । ध्वनि प्रदूषण हुने गरी र मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको चर्काे आवाजमा साउण्ड सिस्टम आदिको प्रयोग नगरौं ।'
त्यसैगरी, महँगा गरगहना लगाएर होली नखेल्न, ट्राफिक नियमको पूर्णरुपमा पालना गर्न, मादक पदार्थ सेवन गरी गाडी नचलाउन पनि प्रहरीले अनुरोध गरेको छ । गाँजा, भाङ वा कुनै किसिमको नशालु पदार्थ सेवन नगर्न सचेत गराउँदै अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।
सभ्य एवम् सुरक्षित रुपमा होली पर्व मनाउन अनुरोधसहित सार्वजनिक शान्ति, सुरक्षा व्यवस्थालाई असर पर्ने कुनै कार्य गरेमा वा गराएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरासमेत प्रहरीले सूचित गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएमा तत्काल नजिकैको प्रहरी कार्यालय तथा नेपाल प्रहरीको हटलाईन नं. १०० वा यस कार्यालयको फोन नं. ९८५५०९०१३३ मा सम्पर्क गरी जानकारी गराउन हुन अनुरोध गरेका छन् ।
176 shares
टिप्पणीहरू