प्रधानमन्त्रीको प्रतिप्रश्न– ‘चुच्चे नक्साको भूगोलमा जाने योजना छ कि क्या हो ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधिसभा सदस्य बुद्धिमान तामाङले बिहिवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनौठो प्रश्न गरेका छन् । यसअघि चुच्चे नक्सामा समेटिएको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा प्रधानमन्त्रीस्तरबाट भ्रमण गर्ने विषय कहिल्यै उठेको थिएन । प्रधानमन्त्री ओली स्वयंले पनि त्यसक्षेत्रमा जाने कुरा कहिल्यै गरेका थिएनन् । तर बिहिवार प्रधानमन्त्रीसंगको प्रश्नोत्तर कार्यक्रममा राप्रपा सांसद तामाङले चुच्चे नक्साको भूगोलमा प्रधानमन्त्रीको भ्रमणबारे प्रश्न उठाएका छन् । ‘नेपालको चुच्चे नक्सामा समेटिएको लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणमा प्रधानमन्त्रीज्यू कहिले जानुहुन्छ र भ्रमणको कुनै कार्यक्रम बनेको छ कि छैन ?’ राप्रपा सांसद तामाङको प्रश्न छ ।
संसद सचिवालयमार्फत प्रधानमन्त्रीलाई पूर्वजानकारी गराइएका प्रश्नहरूमध्ये यो प्रश्न पनि समावेश थियो । बैठकमा सहभागी सांसदहरू र बैठक हेरिरहेका दर्शकहरूमाझ एकाएक यो प्रश्न राखिए पनि प्रधानमन्त्री र संसद सचिवालय यसबारे पूर्वजानकार थिए । संसद सचिवालयले प्रधानमन्त्रीलाई सोधिने सबै प्रश्न यसअघि नै लिखित रूपमा सम्बन्धित सांसदहरूबाट संकलन गरेको थियो ।
प्रधानमन्त्रीले यो प्रश्नको उत्तर रोचक रूपमा दिएका छन् । ‘अहिले तत्काल (भ्रमणमा जाने) योजना बनेको छैन, पछि जान सकिन्छ’ ओलीको जवाफ छ । प्रधानमन्त्रीले सांसद तामाङलाई उल्टै प्रश्नसमेत गरेका छन्– ‘माननीयज्यूको योजना (भ्रमण गर्ने योजना) बनेको छ कि क्या हो ? योजना बनेको छ भने राम्रो कुरा हो ।’
चुच्चे नक्सामा समेटिएको भूभाग भारतीय सुरक्षा बलको नियन्त्रणमा मात्रै छैन, त्यसक्षेत्रमा हजारौं सैनिक र अर्धसैनिक बल राखिएका छन् । भारतको धारचुला तहसिलअन्तर्गत छियालेकभन्दा माथिको क्षेत्रलाई नोटिफाइड एरिया (निषेधित क्षेत्र) बनाइएको छ । उक्त क्षेत्रमा कुनै पनि नेपाली नागरिकलाई प्रवेश गर्न दिइँदैन । भारतीय नागरिकले समेत त्यसक्षेत्रमा आवतजावत गर्न भारतीय प्रशासनको लिखित अनुमतिपत्र लिनुपर्ने अभ्यास छ । सांसद तामाङको प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्रीले भनेका छन् – ‘हामी सबैलाई थाहा छ सन् १९६२ सम्म हाल नेपालको नक्सा जुन हामीले बनाएका छौं, हाम्रो संसदले सर्वसम्मतिले त्यसलाई संविधानको अंग पनि बनाएको छ, स्वीकारेको छ र त्यो नै यथार्थ हो । १९६२ सम्म त्यो भूभाग नेपालकै अधिनमा थियो । नेपालको नक्सा पनि तदअनुसार नै थियो र तदअनुसार (जस्तो अहिलेको नक्सा छ त्यही बमोजिम) नै पहिले पनि थियो ६२ (१९६२) भन्दा अघि ।
त्यसपछि नेपालको नक्सा किन फेरियो ? कसले फे¥यो ? कसको सरकार थियो ? कसतो व्यवस्था थियो ? कस्को व्यवस्था थियो ? (संसदमा ताली बज्छ) माननीयजीलाई याद होला । २०७७ साल असार ४ गते संविधानको दोस्रो संशोधनमार्फत पनि अनुसूची ३ मा रहेको नेपालको निशाना छाप अद्यावधिक गरिएको तथ्य माननीयज्यूलाई अवगत नै छ ।’ प्रधानमन्त्री ओलीले प्रायः सन्दर्भहरूमा चुच्चे नक्साको विषय उल्लेख गर्छन् । तर त्यसमा समेटिएको भूगोल भ्रमण गर्ने विषय कहिल्यै उठेको थिएन ।
टिप्पणीहरू