प्रहरी चौकीमा नीर शाहको यसकारण भनाभन

वरिष्ठ कलाकार नीर शाह आज बिहान भक्तपुरको बालकोट प्रहरी चौकीमा देखिए । केही प्रहरीसँग उनको भनाभन चलिरहेको थियो ।
प्रहरी चौकीको कार्यालय भवन खुला सडकसँग जोडिएको कारण गेट बाहिरबाटै कलाकार शाह तनाबमा रहेको देखिन्थ्यो । सडकमा वरपर गरिरहेका स्थानीयले खासखुस गरिहेका थिए- के भएको रहेछ ?
एकैछिनमा त्यहाँ ठूलो भीड जम्मा भइसकेको थियो । चलचित्रको पर्दामा देखिरहेको व्यक्तिलाई चौकीमा देखेपछि नागरिकमा जिज्ञासा उठ्नु स्वभाविक पनि हो । तर, केही समयपछि भीडको एउटा कुनाबाट जब ‘कट्’ भन्ने ठूला आवाज गुञ्जियो, बल्ल थाहा भयो त्यहाँ अभिनय भइरहेको रहेछ ।
हाल धमाधन छायांकन भइरहेको चलचित्र ‘परान’को प्रसंग हो, यो । ‘सक्किगो नि’ नामक सिरियलका कलाकार दिपक आचार्य (काकु)को डेब्यु निर्देशनमा तयार भइरहेको चलचित्रमा नीर मुख्य भूमिका छन् । उनीसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रविण खतिवडा, महेश त्रिपाठी, अञ्जना बराइली लगायतको पनि अभिनय रहेको बताइन्छ ।
व्यवसायी शेखर गोल्छाको पहिलो लगानी रहेको उक्त चलचित्रलाई शिवराम श्रेष्ठले खिचिरहेका छन् । मित्रदेव गुरुङको सम्पादन रहने बताइएको छ ।
टिप्पणीहरू