बालेनलाई कर्मचारीको सातदिने अल्टिमेटम

बालेनलाई कर्मचारीको सातदिने अल्टिमेटम

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई एक हप्ताभित्र तलब पाउने अवस्था बनाइदिन कर्मचारीहरुले अल्टिमेटम दिएका छन् । 

स्थानीय तह कर्मचारी संघले आज विज्ञप्ति जारी गर्दै फेसबुकमा स्टाटस लेखेर दम्भ देखाउनुभन्दा समस्या समाधानको लागि गम्भीर बन्न आग्रह गरेका हुन् । नत्र, आन्दोलनमा उत्रिने कर्मचारीको चेतावनी छ । 

बालेनले मेयरको पदीय हैसियतमा बसेर प्रदेश र संघीय सरकारसँग समन्वय गर्नुपर्नेमा समाजिक सञ्जालमार्फत् उच्छृखंल, अवाञ्छित र उत्तेजित शब्द प्रयोग गरेर समस्यालाई झन् ठूलो बनाइरहेको विज्ञप्तिमा दावी गरिएको छ । 

संघका अध्यक्ष नारायणप्रसाद शर्माद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘महानगरको नेतृत्व जिम्मेवार एंव गम्भीर भइ समस्या समाधानको लागि सम्बन्धित निकायसँग समन्वयात्मक तवरले निकास खोज्नुपर्नेमा यस्ता गतिविधिले समस्या हल गर्नतर्फ हैन, दम्भ प्रदर्शन गर्नतर्फ अग्रसर देखिन्छ ।’

महानगरको कामकाज विधि र प्रक्रियाबाट भन्दा पनि बालेनको मौखिक आदेश र निर्देशनबाट चलेको कारण प्रमुख प्रशासकीय अधिकृतको समस्या निम्तिएको पनि विज्ञप्तिमा उल्लेख छ । 

यसअघि पनि मेयर बालेनको ध्यानाकर्षण गराइएको, तर कुनै वास्ता नगरिएको जिकिर गर्दै संघले थप भनेको छ, ‘अब पनि हाम्रो मागलाई बेवास्ता गरी अझ उत्तेजित हुँदै समस्या लम्ब्याउने, बल्झाउनेतर्फ उद्धत भई आम कर्मचारीको समस्या एक हप्ताभित्र समाधान नगरेमा सबै पेशाकर्मी एकतित्र भइ कडा आन्दोलनमा उत्रिने र उक्त परिस्थितिबाट सिर्जना भएको परिणामको जिम्मेवार नेतृत्व स्वंय हुने व्यहोरासमेत अवगत गराउन चाहन्छौँ ।’

उता महानगरभित्र कार्यरत शिक्षकहरुले पनि मेयर बालेनलाई तलब पाउने व्ववस्था गर्न अल्टिमेटम दिएको अवस्था छ । नेपाल शिक्षक महासंघ महानगर समितिले केहि दिनअघि महानगरको कार्यालयमै पुगेर चैत तेस्रो साताभित्र सबै समस्या समाधान गरेर बैंक खातामा तलब आउने वातावरण बनाउन चेतावनीसहितको पत्र बुझाएको थियो । 

महानगरमा कार्यरत हजारौँ कर्मचारीको चेतवानीले दबाबमा परेकै कारण बालेनले केहि दिनयता थप आक्रमक स्टाटस लेखिरहेको धेरैको बुझाई छ । उनले अस्ति साँझ ‘एक हप्तामा कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाड्ने’ धम्की दिएका थिए । 

स्मरण रहोस्, बालेनले नयाँ प्रमुख प्रशाकीय अधिकृत पठाइदिन बारम्बार आग्रह गरेकोमा सामान्य प्रशासन मन्त्रालयले भने हाल कार्यालयमा प्रतिबन्ध लगाइएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई नै निरन्तरता दिनभन्दै पत्र पठाएको थियो । तर, बालेनले भन्दै त्यो असम्भव रहेको, बरु आर्थिक अधिकारप्राप्त शाखा अधिकृत पठाइदिन भन्दै जवाफी पत्र लेखेका थिए । त्यसयता मन्त्रालयले कुनै चासो दिएको छैन ।

टिप्पणीहरू