भोलिका लागि समाजवादी मोर्चाको नारा तय

नेकपा माओवादी केन्द्रसहित चार वामपन्थी दल सम्मिलित समाजवादी मोर्चाले भोलि हुने जनप्रदर्शनमा डेढ लाख मान्छे उतार्ने दाबी गरेको छ ।
प्रतिगामी षड्यन्त्रको विरोध गर्दै गणतन्त्रको सुदृढीकरण तथा राष्ट्रिय स्वाधीनताको रक्षाका लागि बृहत प्रदर्शन गर्न लागेको मोर्चाले जनाएको छ । हिजो दिउँसो बसेको मोर्चाको १२ औँ बैठकले यस्तो निर्णय लिएको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
मोर्चाले प्रदर्शनलाई व्यवस्थित र प्रभावकारी बनाउन जुलुसको रुट तोक्नेदेखि नारा तय गर्नेसम्मको निर्णय गरिसकेको छ । निर्णयअनुसार कोटेश्वर-नयाँ बानेश्वेर-माइतीघर-भृकुटीमण्डप, कुपन्डोल-त्रिपुरेश्वर-सुन्धारा-शान्तिबाटिका-भृकटिमण्डप र नागपोखरी-पुतलीसडक-भृकुटिमण्डप रुट प्रयोग गरिने छ।
प्रदर्शनमा 'यथास्थिति र प्रतिगामी षड्यन्त्रको विरोध गरौँ । गणतन्त्रको सम्वर्द्धन र राष्ट्रिय स्वाधीनताको संरक्षण गरौँ' भन्ने नारा लेखिएको मूल ब्यानर देखाइने छ । त्यस्तै, ‘समाजवादी मोर्चा, नेपाल- जिन्दावाद!’, ‘प्रतिगामी षड्यन्त्र - मूर्दावाद', 'गणतन्त्र नेपाल- जिन्दावाद' भ्रष्टाचारलाई कारबाही गर!’, ‘शिक्षकहरूको समस्या समाधान गर!’ जस्ता नारा लगाउनेछ ।
टिप्पणीहरू