शान्ति प्रक्रिया टुंग्याउन राजनीतिक दलहरुबीच सैद्धान्तिक विवाद छैन : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन राजनीतिक दलहरुबीच सैद्धान्तिक विवाद नरहेको दाबी गर्नुभएको छ ।
'संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार' सम्बन्धी राष्ट्रिय सम्मेलनलाई आज काठमाडौँमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपालको शान्ति प्रक्रिया केही मौलिक ढंगले अघि बढेको अध्यक्ष प्रचण्डको भनाई छ ।
टिआरसी र ट्रान्जिसनल जस्टिससँग सम्बन्धित कुरामा पीडितका माग सम्बोधन गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्नेमा राजनीतिक नेतृत्व तहमा असमझदारी नरहेको उहाँले जिकिर गर्नुभयो । मूलतः पीडितलाई न्याय दिने कुरालाई प्राथमिकता दिएरमात्रै अन्ततः शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्ने कुरामा सबै स्पष्ट रहेको उल्लेख गर्नुभयो ।
‘नेपालको शान्ति प्रक्रिया केही मौलिक ढंगले अघि बढेको छ । अर्को यो टिआरसी र ट्रान्जिसनल जस्टिससँग सम्बन्धित कुरा मुख्यतः पीडितहरुलाई सम्बोधन गर्नेकुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरालाई पनि राजनीतिक नेतृत्व तहमा कहिल्यै विवाद भएन', प्रचण्डले भन्नुभयो 'मानिसहरुलाई लाग्छ, त्यस्तो होइन होला भनेर । तर हामी राजनीतिक नेतृत्व मूलतः पीडितलाई न्याय दिनेकुरालाई प्राथमिकता दिएर मात्रै अन्ततः शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्ने कुरामा हामी कन्फ्युजनमा कहिल्यै भएनौँ ।'
नेपालको शान्ति प्रक्रिया मौलिक ढंगले अघि बढेको उल्लेख गर्दै उहाँले केही दृष्टान्तसमेत दिनुभयो । विवाद र विमतिका बीचमा पनि देशको राष्ट्रिय मुद्दा भएकाले शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा राजनीति गर्न हुँदैन भनेर आफूहरु लागिरहेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।
'हामीले अघि बढाइरहेको यो प्रक्रिया धेरै हदसम्म आफ्नो विशेषता, आफ्नो मौलिकताअनुसार सफलताको साथ नै अघि बढेको महशुस गरेका छौँ । अध्ययन भ्रमणका सारसंक्षेपहरुलाई केन्द्रित गरेर नै हामीले नेपालको शान्ति प्रक्रिया अघि बढाउनुपर्छ भन्नेकुरामा केन्द्रित भयौँ । छौँ', उहाँ भन्नुहुन्छ, 'अहिले पनि हामी राजनीतिक दलहरुको बीचमा विवादहरु छ । हामी प्रमुख दलहरु नै कोही सत्ता पक्ष र कोही प्रतिपक्षमा छौँ । विवाद चलिरहेको छ । सदनमा बहस भइरहेको छ । थुप्रै कुरा छ । यि तमाम विवाद र विमतिको बीचमा पनि शान्ति प्रक्रिया टुंग्याउनुपर्छ भन्नेकुरामा इन्प्रिन्सिपल हामी कहिल्यै विवादमा भएनौँ ।'
टिप्पणीहरू