मन्त्रीले नटेरेको महामन्त्रीको गुनासो, सिंहदरबारबाटै अराजकता मच्याइएको माननीयको ठहर

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर सरकारले गलत कदम चालेको टिप्पणी गरेका छन् ।
अस्ति समाजिक सञ्जालमार्फत् विरोध जनाएका उनले आज संसद भवन परिसरबाट प्रधानमन्त्रीलाई सचेत र ध्यानाकर्षण गराउँदा पनि गलत निर्णय भएको दु:खेसो गरे । उर्जामन्त्री दीपक खड्का पार्टीगत हिसाबमा आफू (महामन्त्री) भन्दा मुनि हुने भए पनि सरकारको सवालमा प्रधानमन्त्री नै जिम्मेवार हुनुपर्ने उनको भनाई छ ।
‘हामीले पार्टीको पदाधिकारी बैठकमार्फत् नै कुलमानलाई हटाउनु हुँदैन भनेर मन्त्री र प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थियौँ, तर पनि गलत निर्णय भयो’, शर्माले भने, ‘कांग्रेसका मन्त्रीहरु महामन्त्रीअन्तर्गत नै हुन्छन्, तर सरकारको सवालमा प्रधानमन्त्रीअन्तर्गत हुन्छन् ।’
कुलमानको बर्खास्तीमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै प्रतिपक्षीले संसद अवरुद्ध गर्नुचाहिँ गलत भएको उनको भनाई छ । ‘यदि प्रधानमन्त्रीले एउटा कर्मचारीको लागि संसदमा स्पष्टीकरण दिदै जाने हो भने भविष्यमा गलत नजिर बस्छ, फेरि अब यो विषय सर्वोच्च पुगेको भन्ने छ, बरु कुलमानजीको पुर्नबहालीको काम गरौँ न’, शर्माले थपे ।
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री सुदन किरातीले भने जनताको चाहना बुझ्न नसक्ने केपी ओलीलाई अब प्रधानमन्त्री मान्न नसकिने बताएका छन् । सिंहदरबारबाटै अराजकता र कुशासनको बिजारोपण भइरहेको उनको दाबी छ ।
‘कुलमानलाई राजनीतिक प्रतिशोधकै कारणले हटाइएको हो, प्रधानमन्त्रीले संसदमा आएर स्पष्टीकरण दिनुपर्छ’, किरातीले भने, ‘यो भन्दा अराजकता के हुन्छ ? प्रधानमन्त्रीजस्तो मान्छे गैरजिम्मेवार हुन मिल्छ ? जनभावना नबुझ्नेलाई यसरी प्रधानमन्त्री मान्न सकिँदैन ।’
टिप्पणीहरू