कुलमानको रिट दर्ता, हितेन्द्रको बाँकी

आफूलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका कुलमान घिसिङ्गको रिट निवेदन दर्ता भएको छ । आज दर्ता भएको रिटको पेशी भोलिको इजालसमा तोकिएको छ ।
‘उहाँले पेश गर्नुभएको रिट दर्ता भएको छ । त्यसको पेशी भोलि तोकिएको छ’, सर्वोच्चका प्रवक्ता अच्युत कुईंकेलले बताए । कुलमानले हिजो वारेसमार्फत् रिट पेश गरेका थिए । तर, कार्यालय समयपश्चात् रिट पेश भएकाले आज मात्र दर्ता गरिएको हो ।
यता, प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पेश गरेको रिट भने दर्ता हुन बाँकी छ । उनले अघिल्लो रिक्त कार्यकाल अवधिको सेवासुविधा माग गर्दै हिजो रिट निवेदन दिएका हुन् । उक्त रिट निवेदन दर्ता भइनसकेको प्रवक्ता कुईंकेलले जानकारी दिए । जनआस्थासँग कुईंकेलले भने,‘उहाँले सेवासुविधा माग गर्दै रिट निवेदन दिनुभएको थियो । तर, दर्ता भने भएको छैन ।’
सोमबार साँझ बसेको क्याबिनेट बैठकले कुलमानलाई हटाएर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । सरकारको उक्त कदमको विरोध गर्दै विभिन्न राजनीतिक दल, नागरिक समाज, संघसंस्था र व्यक्तिहरु स्वतःस्फुर्त रुपमा अस्तिदेखि सडकमा उत्रिएका छन् । विपक्षी दलले प्रधानमन्त्रीसँग जवाफ माग गर्दै सदनसमेत अवरुद्ध गरेका हुन् ।
टिप्पणीहरू