शक्तिमा फर्किने रहर नगर्न पूर्वराजालाई देउवाको सुझाव

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै रहर गरेर राजतन्त्र पुनःस्थापित नहुने टिप्पणी गर्नुभएको छ ।

पार्टी मुख्यालय सानेपामा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विपी कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला लगायतका धेरै नेपालीहरुले लडेर नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको भन्दै अब यो व्यवस्था हट्न नसक्ने दाबी गर्नुभयो । 

सम्पूर्ण नेपाली जनताले संविधान सभामार्फत जनताको इच्छाअनुसार गणतन्त्र आएको भन्दै राजतन्त्र फर्काउने रहर नगर्न देउवाको आग्रह छ । गणतन्त्र नेपाली जनताले मानिसकेको भन्दै पूर्वराजा शाहलाई अब आश नगर्न सुझाव दिनुभयो । 

समावेशी, समानुपातिक प्रतिनिधित्वसहित हिमाल, पहाड, तराईका सबै जनता अटाउने गणतन्त्रात्मक संविधान बनेको उल्लेख गर्दै सभापति देउवाले अब देशमा कुनै किसिमको डर नरहेको उल्लेख गर्नुभयो । कुनै हालतमा पनि प्रजातन्त्र हट्न नसक्ने दाबी गर्दै लोकतन्त्र र गणतन्त्रलाई स्थायी गराउने काममा लाग्न कार्यकर्तालाई उहाँको विशेष आग्रह छ ।

‘विपी कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला लगायतका सबै साथी भाइहरु लडेर हामीले नेपालमा अहिलेको व्यवस्था ल्याएका छौँ । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याएका छौँ । कसैले रहर गरेर हुनेकुरा छैन', सभापति देउवाले भन्नुभयो, ' यो सम्पूर्ण नेपाली जनताले संविधान सभामार्फत जनताको इच्छाअनुसार गणतन्त्र आएको हो । यो हट्नेवाला छैन, हट्नेकुरा पनि छैन । नेपाली जनताले मानिसकेको हुनाले कसैले आशा नगरे हुन्छ ।'

संविधानमा सबै पक्षको प्रतिनिधित्व रहेको जनाउँदै उहाँले संविधानप्रदत्त अधिकारमा नागरिकलाई सहभागी गराइने प्रष्ट पार्नुभयो ।

टिप्पणीहरू