ऊर्जामन्त्रीलाई थप सुरक्षाकर्मी, सुरक्षा घेरामा सवारी

ऊर्जामन्त्रीलाई थप सुरक्षाकर्मी, सुरक्षा घेरामा सवारी

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको सुरक्षामा थप सुरक्षाकर्मी खटाइएको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयविरुद्ध नागरिकहरु स्वस्फूर्त सडकमा उत्रिन थालेपछि जोखिमलाई मध्यनजर गर्दै सुरक्षा बढाइएको बताइएको छ ।

स्रोतका अनुसार मन्त्री खड्काको निम्ति अगुवा गाडीसहित थप सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यस्तै उनी सहभागी हुने भनिएका पूर्वनिर्धारित कतिपय कार्यक्रमसमेत स्थगित गरिएको छ । 

नयाँ बानेश्वरस्थित संसद भवनमा आज पुग्दा मन्त्री खड्का विगतमा भन्दा कडा सुरक्षा घेरामा रहेको देखिन्थ्यो । सञ्चारकर्मीले ‘कुलमानलाई हटाउने निर्णयविरुद्ध जनताको आक्रोश देख्नुभएको छ ?’ भन्ने प्रश्नमा उनले ‘त्यस्तो लाग्दैन, उहाँ (कुलमान)भन्दा राम्रो मान्छे राख्या छ’ भन्दै पन्छिएका थिए । 

सोमबार साँझको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेसँगै चौतर्फी विरोध भइरहेको छ । विभिन्न ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री खड्काको पुत्ला जलाएर नागरिकले आक्रोशसमेत पोखिरहेका छन् ।  प्राधिकरणको केन्द्रीय कार्यालय भवन, रत्नपार्क र माइतीघरमा सरकारविरुद्ध प्रदर्शन र नाराबाजी भइरहेको छ ।

टिप्पणीहरू