मोबाइलमा एसएमएसपछि सवारी लाइसेन्स

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको एसएमएस प्राप्त भएपछि मात्र लिन जान आग्रह गरेको छ । विभागले लाइसेन्स छापिएपछि विभागको वेबसाइट, फेसबुक पेजमा प्रकाशन हुने तथा सम्बन्धित व्यक्तिको मोबाइलमा एसएमएम आउने जानकारी दिँदै सूचना प्राप्तिपछि मात्र सम्बन्धित कार्यालयमा लिन जान आग्रह गरेको छ ।
सूचनामा भनिएको छ, ‘यस विभागबाट सवारी चालक अनुमति पत्रको छपाई भएपछि सोको जानकारी विभागको वेबसाइट, फेसबुक पेज हेलो यातायात व्यवस्था विभाग तथा सम्बन्धित सवारी चालक अनुमति पत्रको परीक्षामा उत्तीर्ण व्यक्तिको मोबाइलमा एसएमएस पठाउने व्यवस्था रहेकोले उल्लिखित माध्यमबाट जानकारी प्राप्त भएपछि मात्र सम्बन्धित यातायात कार्यालयमा आआफ्नो सवारी चालक अनुमति पत्र लिन जान सूचित गरिन्छ ।’
विभागले लाइसेन्सको छपाई तथा वितरण गर्ने जिम्मेवारी सम्बन्धित प्रदेशमा रहने भएपनि तत्कालका लागि विभागले छपाई निरन्तर गर्दै आएको बताएको छ । छपाई कार्यलाई यथाशीघ्र सम्पन्न गर्न सचेत तथा गम्भीर रहेको पनि उल्लेख छ ।
टिप्पणीहरू