सरकार र विपक्षीका अडान यथावत, संसद बैठक आज पनि अनिश्चित

सरकार र विपक्षीका अडान यथावत, संसद बैठक आज पनि अनिश्चित

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाइएको विरोधमा नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरुको अवरोध जारीपछि संसद बैठक अवरुद्ध भएको छ । अस्तिदेखि बस्न नसकेको बैठक आज पनि अनिश्चित देखिएको छ ।

कुलमान हटाइएको सम्बन्धमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने विपक्षीको अडान र जवाफ नदिने प्रधानमन्त्री एवम् एमालेको भनाइका कारण आज बिहान ११ बजे डाकिएको बैठक पनि सुचारु हुने संकेत छैन । हिजो बिहान प्रतिनिधि सभाको बैठक शुरु हुने बितिक्कै विपक्षीहरुले उठेर विरोध गरेका कारण बैठक अवरुद्ध भएको थियो । राष्ट्रिय सभाको बैठक पनि अघि बढेन ।

सभामुख देवराज घिमिरे सत्ता पक्ष र प्रतिपक्ष दलका प्रमुख सचेतक, सचेतकहरुसँग बैठक सुचारु गर्ने सम्बन्धमा पटक पटक गर्नुभएको प्रयास विफल भएको थियो । यता आज बिहान ११ बजेदेखि माओवादी केन्द्रलगायत समाजवादी मोर्चाको तत्वावधानमा गणतन्त्रको पक्षमा प्रदर्शन तथा सभा हुँदैछ । सोही समयमा राप्रपालगायत राजावादी समूहले पनि राजतन्त्रको पक्षमा प्रदर्शन तथा सभा गर्दैछन् ।

टिप्पणीहरू